जनप्रतिनिधि हुनु त यस्तो ः बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बलेवा, ३ कात्तिक ९रासस० ः गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन ।

यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उहाँले पनि बारी बाँझै राख्नुभयो । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागीर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उहाँको बारी बाझिँदै थियो तर बारीलाई बाँझै राख्न उहाँलाई पटक्कै मन लागेन । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेवारी पाउनुभएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका वडाध्यक्षलामिछानेले अहिले भने त्यही बाँझिन थालेको बारीबाट लाखौँ कमाइ गर्न थाल्नुभएको छ ।

काठेखोला गाउँपालिका–७ रेशमा रहेको उहाँको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । “चार÷पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ”, उहाँले भन्नुभयो, “वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो ।” उहाँले दुई रोपनी बाँझो बारीमा ४५ किवीका बिरुवा लगाउनुभएको छ । तिनै बिरुवामा यस वर्ष सात सय किलो किवी फलेको उहाँले बताउनुभयो ।

“दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्”, उहाँले भन्नुभयोे, “बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ ।” रु पाँच सय प्रतिगोटा खरिद गरेका ४५ बिरुवाले गत वर्ष नै लगानी उठाएको उहाँले बताउनुभयो । बगानमा किवीको बिरुवालाई आड दिन गत वर्ष रु ७० हजार खर्चेर उहाँले टहरा बनाउनुभएको छ ।

उहाँका बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो रु दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उहाँकी श्रीमती कमला लामिछानेले बताउनुभयो । “बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर विचौलिया आउँछन््, उपभोक्तालाई पनि महँगो पर्ने”, कमलाले भन्नुभयो, “हामी आफैँले उपभोक्तालाई दिँदा उहाँहरुले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।”

यस वर्ष मात्रै किवीको बिक्रीबाट रु दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । बहुवर्षे बाली भएकाले बेला बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यहीँ बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभवसमेत उहाँसँग छ । “हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।” उहाँले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आउनुभएको छ । उहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *