मतपत्र आइपुग्यो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ ।

निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र प्राप्त भएको हो । यसअघि समानुपातिकतर्फको पाँच लाख ३८ हजार थान मतपत्र जिल्लामा आइपुगेको थियो ।

ती मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ । यस्तै प्रदेशसभा (१) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (२) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्षका लागि एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (२) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६–६६ हजार थान मतपत्र प्राप्त भएको छ । शनिबार आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यही कात्तिक १ गते जिल्लामा आएकाले रुजु गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कर्मचारी छनोट सम्पन्न

निर्वाचन कार्यक्रमअन्तर्गत मतदान केन्द्रमा खटाइने कर्मचारी छनोटको काम सम्पन्न भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सङ्कलन गरिएको सरकारी कर्मचारी कुन केन्द्रमा को भन्ने छनोटको काम सम्पन्न भएको निर्वाचन अधिकृत भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार छनोट गरिएका ती कर्मचारीको विवरण रुजु गरेर एक–दुई दिनभित्रै सार्वजनिक गरिने छ । “निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सहायक र सहयोगी कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले खटाउने छ”, उहाँले भन्नुभयो, “मतदान केन्द्रका लागि आवश्यकतानुसार स्वंयसेवक कर्मचारी भने मतदान अधिकृतले नै नियुक्त गर्न सक्नेछन् ।”

जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ३९ हजार सात सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *