रेमिट्यान्स गाउँ रित्तियो, सहर उभोँ लाग्यो

करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो । घरको पछाडी करेसाबारी,लेकबेँसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवायुवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको । खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो । गाउँका यो प्राकृतिकस्वरुप हराएको पुगनपुग ३० वर्ष भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु गर्यो । विसं २०४६ देखि भर्खर बामे सर्न थालेको विकासको पाइला २०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला पर्यो । २०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि २०६२÷६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुन  विकासको लहर फैलियो । विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो । गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन । जव डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो । गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयवासीको गुनासो छ । “सडक पुग्यो, गाडी पनि चल्यो तर,गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन” मालिका ५ देवीस्थानका एकजीत बूढाले भन्नुभयो “हाम्रा लागि विकास,आकाशको फल आँखा तरी मर,भनेजस्तै भयो ।”गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र सहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँ–गाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी । बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरुको जीविका । शिक्षक धनवीर थापा भन्नुहुन्छ, “गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।” अहिले धान–चामल चाहीँ विदेशबाट ओसार्न पर्ने बनाएको छ । वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीयवासीको भनाइ छ । “गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत सहर जस्ता नै हुनसकेका छन्” बेनी नगरपालिका– २ का ८६ बर्सिय बेदप्रसाद उपाध्याय भन्नुहुन्छ,“गाउँ वर्णशङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए । ” आसन्न स्थानीय तहको माहौल जिल्लामा तातेको छ । “नेताहरुले गाउँ बस्तीलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् । असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ ।” बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापाले भन्नुभयो । ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् । वर्णसंकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ । उनीहरु आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरुको जीवनशैलीका कारण बढी चिन्तित छन् । धर्म–कर्म, दान–दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरुको भनाइ छ ।“ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरिय जस्ता पनि हुन सक्दैनन्” ७६ वर्षीय दण्डपाणी उहाँ भन्नुहुन्छ “ रेमिट्यान्सले सहरलाई उभों लगायो, गाउँलाई रित्याइदियो ।” उहाँले भन्नुभयो,“गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने सहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, सहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।” ––


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *