📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

कपिलवस्तुमा ३७ हजार बढी मत बदर

🕒 November 29, 2022

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिनुभयो । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ ।

क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उहाँले भन्नुभयो ।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो ।

समानुपातिकमा एमाले पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । योसँगै समानुपातिकतर्फ एमाले पहिलो पार्टी भएको हो ।

प्रतिनिधिसभातर्फ एमालेले ७२ हजार आठ सय १६ मत पाएको छ भने नेपाली कांग्रेसले ६१ हजार दुई सय १६ मत पाएर दोस्रो हुँदा १६ हजार दुई सय ५९ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा १५ हजार चार सय १८ मत पाएर चौथो स्थानमा छ । जनमत पार्टीले १५ हजार दुई सय पाँच, नागरिक उन्मुक्ति पार्टीले नौ हजार तीन सय पाँच, जनता प्रगतिशील पार्टी नेपालले आठ हजार आठ सय ६२ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले आठ हजार आठ सय ४१ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले आठ हजार छ सय ७४ मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले आठ हजार चार सय ४७ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले छ हजार चार सय ४७ मत पाएको छ । बहुजन शक्ति पार्टीले दुई हजार सात सय ४१, राष्ट्रिय जनमोर्चाले एक हजार तीन सय १८, हाम्रो नेपाली पार्टीले एक हजार एक सय १४ मत पाएको छ । अरु साना दलहरूले पाएको मत एक हजारभन्दा कम छ ।

विसं २०७४ यता जन्मिएका जनमत, नागरिक उन्मुक्ति, जप्रपा, एकीकृत समाजवादीले जिल्लामा राम्रो मत पाएका छन् भने राप्रपाले पनि आफ्नो दबदबा बढाएको छ ।

जिल्लाका छ प्रदेशसभातर्फ पनि एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७५ हजार दुई सय ५२, कांग्रेसले ५८ हजार सात सय ३८, जनमत पार्टीले १७ हजार दुई सय १६, राप्रपाले १६ हजार एक सय ९८, माओवादीले १० हजार नौ सय ३८, नागरिक उन्मुक्ति पार्टीले १० हजार छ सय ६५, जसपाले १० हजार तीन सय २४, एकीकृत समाजवादीले नौ हजार एक सय ३६ मत पाएको छ ।

जनता प्रगतिशील पार्टीले आठ हजार पाँच सय ६७, लोसपाले पाँच हजार तीन सय ६८, बहुजन शक्ति पार्टीले तीन हजार एक सय ५०, हाम्रो नेपाली पार्टीले दुई हजार सात सय ६४, राष्ट्रिय जनमोर्चाले दुई हजार दुई सय ८८ मत पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।