सात गाउँले जात्रा सुुरु

राजधानीको दक्षिण पश्चिम क्षेत्रकै प्रमुख पर्वमध्येको सातगाउँले जात्रा आजदेखि सुरु भएको छ ।

यो पर्व कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यसक्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा हुँदै चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट रथयात्रा गराइन्छ ।

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुल्क नवमीका दिन सन्तानहरु आउने विश्वासअनुसार अगामी शनिबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठीयार र गाउँले बाजागाजा ल्याउँछ । त्यस यात्रा हेर्नका लागि उपत्यकाका सबै ठाउँका नेवार समुदाय बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने गर्छ ।

आमा मानिने विष्णुदेवीलाई भेट्न सन्तानहरुबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीय देवलाल श्रेष्ठ बताउँछन् । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरीअर्थात् सतुङ्गलकी देवी बिना श्रृङ्गार बल्खु पुगेकी थिइन् र मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पीठ फर्काएर बाहिरै बसिन् । यसैअनुरुप बल्खुमा सतुङ्गलकी देवीको रथ बिना गरगहना पहिल्यै पु¥याइन्छ भने मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै पीठ फर्काएर राखिन्छ । रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।

जात्राको प्रमुखस्थल बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकोमा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएको र तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको हो । यसरी परेवा उडी कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) तिर गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

स्थानीय मङ्गलदास श्रेष्ठका अनुसार नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालियो त्यसको अपभं्रस भई हाल यस ठाउँलाई बल्खु भनिएको उहाँको भनाइ छ । त्यसै स्थानमा वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमात्रिकाको पूजा गरिन्छ ।

स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भएको छ । यसै अवसरमा नेवारी बाजाको टोली तयार गर्ने काम करिब एक साताअघि सुरु भएको थियो ।

मच्छेगाउँका स्थानीय देवकुमार देशारका अनुसार नेपाल भाषामा मुःय भनिने आजका मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा सुरु भएको छ ।

सिंगारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराउने काम गरी सिन्दूरे जात्रासहित बल्खुमा लगिने उहाँले जानकारी दिनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *