कालीकोटमा पर्यटकको पर्खाइमा छ पचालझरना

कालीकोटको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेका पचालझरना पर्यटकको पर्खाइमा रहेको छ । नेपालकै ठूलो झरना भनेर दाबी गरिएको पचालझरनाको प्रचारप्रसार र पर्यटनको प्रवद्र्धन नहुँदा झरना ओझेलमा परेको छ ।

लम्बाइ तीन सय ८१ मिटर अग्लो रहेको पचालझरना कालीकोटको प्रमुख पर्यटकीय गन्तव्य रहेको छ । पचालभरनाको उचाइ मापन सात वर्षअघि नै भइसकेको र यस झरनाका विषयमा पर्यटन बोर्डले खासै चासो नदिएको गाउँपालिकाका सव–इन्जिनियर कुलप्रसाद न्यौपानेले बताउनुभयो । “लामो समयदेखि पचालझरनाको उचाइका विषयमा विवाद हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “हामीले विभिन्न प्रविधिको प्रयोग गरी उचाइ मापन गर्दा तीन सय ८१ मिटर लामो रहेको छ ।”

यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना तीन सय ६५ मिटर उचाइको रहेको र यो झरना त्योभन्दा १६ मिटर अग्लो रहेको पचालझरना रहेको गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन बोर्डले यस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरेको छैन ।”

गाउँपालिकाले पचालझरनाको पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकार र गाउँपालिकाको रु तीन करोड ३२ लाख खर्च भएको गाउँपालिकाका सूचना अधिकृत प्रकाश कठायतले जानकारी दिनुभयो । “पदमार्ग, घरबास र सूचना केन्द्र स्थापनाका लागि रु तीन करोड ३२ लाख खर्च भएको छ”, उहाँले भन्नुभयो, “अहिले जिल्लाका आन्तरिक पर्यटक मात्रै आउने गरेका छन्, बाह्य पर्यटकलाई आकर्षित गर्न अझै सकिएको छैन ।”

पर्यटनका लागि राम्रो गन्तव्य रहेको भए पनि पर्यटन बोर्डले अभिलेख नगरिदिँदा पर्यटकको रोजाइ पचालझरना पर्न नसकेकोे गाउँपालिका अध्यक्ष शाहीले गुनासो गर्नुभयो । “पर्यटन बोर्डमा पचालझरनाको उचाइको विषयमा प्राविधिक टोलीको रिपोर्टसहित अभिलेख गर्न आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “पर्यटन बोर्डले आधिकारिक रुपमा अवलोकनसहित प्राविधिक जाँच गराएर अभिलेख राखिदिन आग्रह गरेका थियौँ, तर अहिलेसम्म हामीले कुनै जानकारी पाएका छैनौँ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *