मह गाउँको परिचय दिँदै दगाम

परापूर्वकालमा दमार्इँ जातिको बसोबास भएकै कारण दमार्इँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् ।

प्राचीन समयमा दमार्इँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमार्इँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउनुहुन्छ । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् ।

दगामका केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय सुरु गरेको अगुवा कृषक नन्दराज थापाले बताउनुभयो । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहँुले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालन प्रति गाउँलेको रुचि बढेको उहाँको भनाइ छ । “सुरुमा घरेलु तथा साना उद्योग तनहँुबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरीपालन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “सुरुमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो अहिले सबै घरमा मौरीको घार छ ।”

उहाँले मौरीपालनबाट वार्षिक रु छ लाखसम्म आम्दानी गरेको बताउनुभयो  । “सुरुमा एक घारबाट मौरी पाल्न थालेको हँु”, उहाँले थप्नुभयो, “विस्तारै घार बढाउँदै अहिले ४२ घारबाट राम्रै आम्दानी लिएको छु ।” उहाँले मह मात्र नभएर मौरी र घार पनि बिक्री गर्नुहुन्छ । दगामकै अर्का मौरीपालक कृषक टीकाराम गुरुङको घरमा पनि २२ घारमा मौरी छन् । उहाँले मासिक रु ४० देखि ५० हजारको मह बेच्नुहुन्छ । यसले उहाँले परिवार राम्रैसँग पालिएको छ । पहिले काठेघारमा मौरी पाल्नुभएका उहाँले अहिले आधुनिक घारबाट मह काट्नुहुन्छ । “महका लागि सधैँ एकैनासको मौसम हँुदैन कहिले धेरै नै हुन्छ कहिले थोरै मह निकालिन्छ”, उहाँले भन्नुभयो, “फूल फुल्ने मौसममा रु ६० हजारसम्मको मह आउँछ अफसिजनमा पनि रु ३० हजारसम्मको मह उत्पादन हुन्छ । सरदरमा मासिक रु ५० हजारको मह काटिन्छ ।”

मह बेचेको पैसाले दगाम गाउँका कृषकले आफ्नो दैनिकी धान्न सक्ने भएको कृषक नन्दराज थापाले जानकारी दिनुभयो । “यहाँ सबैको घरमा मौरी पालिएको छ केहीले राम्रै आम्दानी गर्छन्”, उहाँले भन्नुभयो, “केहीले घरमै औषधिको रुपमा प्रयोग गर्छन् ।” स्थानीय सेतीमाया थापाले आफ्नो घरमा उत्पादन भएको मह आफूहरुलाई औषधिको रुपमा खान पुगेको बताउनुहुन्छ । उहाँको घरमा चार घार छन् । उहाँले एउटा घारबाट मात्र उत्पादन गर्नुहुन्छ । “हाम्रो उत्पादन भएको मह हामीले बेच्दैनौँ, औषधि बनाएर खान्छौैँ”, उहाँले सुनाउनुभयो, “महले ढाड दुखेको निको हुन्छ अनि चिसो लाग्यो भने तातोपानीमा हालेर खाँदा ठीक हुन्छ त्यही भएर हामीले घरमै खान्छौँ ।”

यहाँ कृषकले ०७३ मा प्राकृतिक मौरीपालक कृषक समूह दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । उनीहरूले सेरेना प्रजातिको मौरी पाल्दै आएका छन् । त्यहाँ उत्पादन भएको महको बजारीकरणमा समस्या नरहेको कृषक थापाले बताउनुभयो । पछिल्लो समय दगाम सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेको उहाँले बताउनुभयो । “हामीले मह बेच्न बजार पु¥याउनुपर्दैन सबै गाउँमै आएर लैजान्छन्”, थापाले भन्नुभयो, “यहाँ होमस्टे खुलेपछि यहाँ आउने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेका छन् । अनि मह खोज्दै गाउँमै धेरै आउँछन हामीलाई माग धान्न गाह्रो छ ।” होमस्टे पुग्ने पाहुनालाई त्यही उत्पादन भएको मह पनि चखाउँछन् ।

धेरै दुःख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरीपालन व्यवसाय गर्न सजिलो रहेको त्यहाँका कृषकको अनुभव छ । मह उत्पादन गरेपछि बजारको समस्या नरहेकाले कृषकको यसमा आकर्षण बढेको हो । कृषकको आकर्षणले गर्दा बेलाबेलामा सरकारी अनुदान पनि आउने गरेको स्थानीयले बताए । दगाममा उत्पादन भएको मह विदेश पनि निर्यात हुने गरेको छ । यहाँको मह मलेसिया, बेल्जियम र हल्याण्डमा निर्यात हुने गरेको छ । उनीहरुले होमस्टे पुग्ने पाहुनाले कोसेलीका रुपमा लगेमा प्रतिकिलो रु एक हजार पाँच सयमा मह दिने गर्छन् भने, विदेश पठाउँदा एक किलोको रु दुई हजार पाँच सय लिने गर्छन् ।

पछिल्लो समय दगाम गाउँ मह उत्पादनका लागि अब्बल देखिएकाले मौरीपालन व्यवसायलाई विस्तर गर्ने स्थानीयको लक्ष्य छ । सरकारी पक्षबाट अझै सहयोग र अनुदान आए दगाम गाउँलाई मह गाउँका रुपमा चिनाउने गरी व्यवसाय विस्तार गर्ने थापाले बताउनुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *