गाउँमै विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा स्वास्थ्योपचार सेवा

गोरखाको अजिरकोट गाउँपालिकामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

“अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उहाँले भन्नुभयो, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा अस्पताल वा आँपपिपल अस्पताल पठाउनु पर्दैन, सिधै चितवन वा काठमाडौँ सिफारिस गर्ने गरिएको छ ।”

गाउँमैै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उहाँले जानकारी दिनुभयो । “दैनिक पाँच सयसम्म बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्”, अध्यक्ष देवकोटाले भन्नुभयो, “हाम्रो गाउँपालिकाबाहेक छिमेकी सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउन थालेका छन् ।”

अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले स्वास्थ्यको बजेटमा प्राथामिकता राखेर आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । अस्पताललाई २४सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उहाँले जानकारी दिनुभयो ।

नपुग कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उहाँको भनाइ छ । “चालु आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परे थप रकमको पनि व्यवस्था गर्न सकिन्छ ।”

बिहान–बेलुकी बिरामी भए पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहेको उहाँले बताउनुभयो । “हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ५ बजे बन्द हुन्छ”, अध्यक्ष देवकोटाले भन्नुभयो, “बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *