काठमाडौंको टोखा नगरपालिका-३ बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ५७ वर्षीय ध्रुव बहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसिफुटेजको आधारमा मोरङ शुन्दरहरैचा नगरपालिका-७ घर भएका ३२ वर्षीय राम बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानको क्रममा राम बहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरिएको जनाइएको छ ।
यस्तै उनले खड्कालाई कुटपिर गरी हत्या गर्नुको साथै मृतको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ ।
अहिले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको छ ।

Leave a Reply