चितवन २ को उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन मात्रै बाँकी

चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचनको मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनको लागि आयोगले स्वीकृत गरेको कार्यक्रममा उल्लेख छ।

आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि मतदाता नामावली अद्यावधिक गराउन समय निर्धारण गरेको थियो ।

उक्त कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गतेका लागि तय गरिएको छ ।

सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट गत माघ १३ मा आदेश भएकाले उहाँको पद खारेज भएको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ ।

चितवन जिल्लामा कुल ३ लाख ९७ हजार ६ सय ८५ जना मतदाता रहेका छन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *