नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो

कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ ।

अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट बहादुर थापाले जानकारी दिए । तर टेण्डर परेको निर्माण कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन ।

कावासोतीमा भएको नमुना सदरमुकाम गुरुयोजना भवन निर्माण सम्बन्धी कार्यक्रममा थापाले दिएको जानकारी अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बन्ने छन् । त्यसका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट भवन निर्माणको काम अघि बढाउने आयोजनाले जनाएको छ ।

नमुना सदरमुकामका लागि छुट्टाइएको १८४ विगाहा क्षेत्रफलको नापजाँच गरिसकिएको छ । जग्गा नापजाँच गर्दा १८४.७.१८.५ बिगाहा किटान भएको आयोजनाले जनाएको छ । अव रुख कटानको काम शुरु हुने बताइएको छ ।

त्यसका लागि डिभिजन वन कार्यालयले अनुमतिका लागि वन विभागमा जानकारी गराएको जनाएको छ । विभागले मन्त्रालयमा प्रस्ताव लगेर स्वीकृत भए रुख कटानको काम अघि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिए । उनका अनुसार ५ सय ५२ वटा रुख कटान गर्नु पर्नेछ ।

यसैबीच प्रतिनिधि सभाका पूर्व सदस्य एवं एमाले नेता तिलक महतले सदरमुकाम निर्माणका लागि कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने बताएका छन् । भरतपुरमा मुख्य कार्यालय हुँदा समस्या भएको भन्दै निर्माणस्थल कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले सम्पर्क कार्यालयका लागि आफू आफ्नै कार्यालयका कोठा दिन तयार रहेको र तत्काल बोर्ड राखेर काम गरेपनि हुने बताए ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *