आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

हुप्सेकोट(नवलपरासी), ११ वैशाख
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाले आगामी आइतबार देखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै विद्यार्थी भर्ना अभियान तथा नियमित पठनपाठन सञ्चालन गर्न विशेष आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेको हस्ताक्षर रहेको सूचनामा देशभरका शिक्षक र विद्यालय कर्मचारीहरूको संविधान सम्मत माग पुरा गर्न नेपाल सरकारले भोलिदेखि नै संसद्को अधिवेशन आव्हान गरिसकेको र ऐन तथा नियमावली निर्माण एक कार्यविधिगत प्रक्रिया रहेकाले विधेयक संसद्मा प्रस्तुत गर्ने देखि विषयगत समितिमा दफावार छलफल एवं पारित गर्ने क्रममा अझै केही समय लाग्ने हुँदा विद्यालय सञ्चालन गर्न आग्रह गरिएको हो ।
पत्रमा लेखिएको छ,“अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउने लक्ष्य लिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपश्चात् दुई हप्ता व्यतीत भइसक्दा समेत पठन पाठन नहुँदा प्रत्येक गाउँ÷टोलबाट अभिभावक, शैक्षिक सरोकारवाला एवं स्वयं विद्यार्थीहरूले समेत यथाशीघ्र पठन पाठन सञ्चालन गर्न व्यापक गुनासो गरिरहेका छन् । यो विषम परिस्थितिको अन्तर मन देखि मनन गरी मिति २०८२÷०१÷१४ गते आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्नुहुन प्रधानाध्यापक, शिक्षक एवं विद्यालय कर्मचारीहरूलाई अनुरोध गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट अनुगमन गर्नुहुन जानकारी गरिन्छ ।”

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *