नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

जेठ ६ / पर्यटन तथा उद्योग कार्यालय, नवलपुरको आयोजनामा एक महिने निःशुल्क ड्राइभिङ तालिम नवलपुर कावासोतीमा सुरु भएको छ ।

पर्यटन तथा उद्योग कार्यालय, नवलपुरका निमित्त प्रमुख निर्मलराज बरालले कार्यक्रमको उद्घाटन गर्दै प्रारम्भमा ४०० जना युवाहरुले फारम भरेकोमा छनोट प्रक्रियाबाट २० जना सहभागी तय गरिएको जानकारी दिनुभयो। उहाँले सहभागी छनोट गर्दा भेगगत अवस्था, आवश्यकता र सीप सिक्न चाहने इच्छाशक्ति आदिमा आधारित भएर निर्णय गरिएको स्पष्ट पार्नुभयो। यो तालिम केवल ड्राइभिङ मात्र होइन, आत्मनिर्भरता र संभावनातर्फको पाइला हो, उहाँले भन्नुभयो। साथै, उहाँले छनोट भएका सबै सहभागीलाई तालिमबाट अधिकतम लाभ उठाउँदै दक्ष ड्राइभर बन्ने शुभकामना पनि दिनुभयो।

कार्यक्रममा बोल्दै यातायात व्यवस्था कार्यालय, नवलपुरका निमित्त प्रमुख धर्मेन्द्र कुमार शाहले पर्यटन तथा उद्योग कार्यालयले अगाडि सारेको यो पहल अत्यन्त सराहनीय भएको बताउनुभयो। उहाँले भन्नुभयो , “नेपालमै सिप सिकेर स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश यो कार्यक्रमले दिएको छ। यसको पूर्ण सदुपयोग गर्न सहभागी युवाहरुले प्रयास गर्नुपर्छ।” उहाँले युवाहरुलाई देशमै केही गर्ने साहस र सीप विकास गर्न यस्ता कार्यक्रमले थप महत्व बढाएको उल्लेख गर्नुभयो।

तालिम सञ्चालनको जिम्मेवारी रामदुत ड्राइभिङ सेन्टरले लिएको छ। संस्थाका सञ्चालक प्रबिन सापकोटाले सबै सहभागीलाई स्वागत गर्दै शुभकामना दिनुभयो। उहाँले युवाहरुलाई तालीममा अनुशासन र लगनशीलताका साथ सहभागी हुन आग्रह गर्दै भन्नुभयो, “सिप भनेको धनभन्दा ठूलो सम्पत्ति हो। मैले जापान र अस्ट्रेलिया जाने क्रममा यो सिपकै कारण राम्रो कमाई गर्न सकेको युवाहरु देखेको छु ।” उहाँले सिकेको सीपको सदुपयोग गरी नेपालमै स्वरोजगार बन्न सकिने र विदेशिएपनि त्यसको भरपुर उपयोग गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभयो।

एक महिने यो तालिममा ड्राईभिङको सैद्धान्तिक ज्ञान, सवारी साधनको सुरक्षित प्रयोग, ट्राफिक नियम, सडक अनुशासनको अभ्यास गराइनेछ। स्थानिय स्तरमा पहिलो पटक सुरु गरिएको यस्तो किसिमको सिपमूलक कार्यक्रमले युवाहरुलाई देशमै केही गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। आयोजक कार्यालयले आगामी दिनमा थप क्षेत्र र सहभागीको पहुँच बढाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जानकारी दिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *