मधेशमा तीन महिना सरदरभन्दा कम वर्षा हुने

मनसुनको एक महिना बित्दा पनि खासै वर्षा हुन नसकेको मधेश क्षेत्रमा आगामी तीन महिना पनि सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आकलन अद्यावधिक गर्दै १४ असोजसम्मको तीन महिनामा मधेशका दक्षिणी भूभागमा सरदरभन्दा कम र कोशीका दक्षिणी भूभागमा सरदर वर्षा हुने बताएको हो ।

विभागले यसअघि वैशाखमा मनसुनी आकलन जारी गर्दै मधेशमा सरदर हाराहारी र कोशीमा सरदरभन्दा बढी वर्षा हुने बताएको थियो । तर, सामुद्रिक र मनसुनी गतिविधि नियाल्दा कोशी र मधेशमा यसअघिका पूर्वानुमान संशोधन गरिएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए । ‘मौसमको पूर्वानुमानसम्बन्धी मोडलले मधेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम र कोशीका दक्षिणी क्षेत्रमा सरदर हाराहारी मात्र वर्षा हुने देखाएको छ,’ उनले भने, ‘देशका अन्य क्षेत्रमा भने यसअघिको पूर्वानुमान मिल्ने देखिन्छ ।’

पछिल्लो पूर्वानुमानअनुसार मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दक्षिणी क्षेत्रमा कम वर्षा हुने देखिएको छ । मधेशमा पश्चिमभन्दा पूर्वी क्षेत्रका जिल्लामा कम वर्षा हुने देखिन्छ ।

त्यस्तै, कोशीका झापा, मोरङ, सुनसरी, इलाम र धनकुटामा सरदर हाराहारी मात्र वर्षा हुने देखिन्छ । कोशीका पाँचथर, भोजपुर र खोटाङका दक्षिणी क्षेत्रमा पनि सरदर वर्षा हुने आकलन छ ।

देशका मुख्य २० स्टेसनको वर्षा औसतमा हेर्दा मनसुनी अवधिको २०.४ प्रतिशत अर्थात् ३०२ मिलिमिटर वर्षा भइसकेको छ । मध्य र पश्चिम नेपालमा सरदर, सरदरभन्दा बढी वर्षा भए पनि कोशीको तराई र मधेशमा भने अझै पर्याप्त पानी पर्न सकेको छैन । मनसुनको सुरुवातीमा जनकपुरमा राम्रो पानी परे पनि पछिल्लोपटक निकै कम पानी परेको छ, जसकारण सरदर भेट्टाउन सकेको छैन । त्यस्तै, सिमरा, विराटनगर र धरानमा पनि सरदरभन्दा कम वर्षा भएको छ । ‘मधेशमा अहिले पनि खासै पानी परेको छैन, अबको तीन महिनामा पनि सरदर नपुग्ने देखिन्छ,’ मौसमविद् हुमागाईंले भने, ‘सरदर वर्षा नभएका अन्य केही क्षेत्रमा भने अबको वर्षाले पूर्ति गर्ने देखिन्छ ।’

देशका अन्य क्षेत्रमा भने सरदरभन्दा बढी वर्षा हुने यसअघिको आकलन कायमै छ । त्यसमा पनि कर्णालीको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ६५ प्रतिशतसम्म छ । सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर–पूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि १५ जेठमा पूर्वी नेपालबाट प्रवेश गरी ६ असारमा देशभर फैलिएको थियो । जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई मनसुनीयाम भनिन्छ ।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *