📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

वर्षको अन्तिम पर्व : सिथि नखः मनाउँदै नेवार समुदाय

🕒 June 5, 2022

भादगाउँ, जेठ २२ (रासस) : जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षात्को बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यसको अर्को विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिएको छ ।

सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेको गाई बस्तुको गोबर मललाई खेतबारीमा पु¥याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।

यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने धार्मिक मान्यतासमेत रहेको छ । नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।

पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला कुमारको पूजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँ जस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।

नेवार समुदाय कला–संस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र साँस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर, वर्षासँगै ती सबै थाँती राखी धानबाली लगाउन व्यस्त हुन्छन् ।

नेवारी समुदायमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ ।

यस्तो अवसरमा किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ ।
धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरिमा रुझेर, हिलो माटोसँग पौँंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमाभन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने प्रचलन रहँदै आएको हो ।

साथै, नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । यस्तै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शक्तिपिठको पुजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ ।