विषयगत समिति गठन

कैलालीको टीकापुर नगरपालिकाले नौवटा विषयगत समिति गठन गरेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम बनाउनुअघि आवश्यक समितिहरु गठन गरेको हो ।

कार्यपालिका बैठककको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख रामलाल डगौरा थारूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठन हुने योजनाहरुको निर्माण तथा गुणस्तर जाँच गरी खर्च भुक्तानी गर्न सिफारिस गर्न नगरउपप्रमुख खडकबहादुर शाहको संयोजकत्वमा योजना अनुगमन समिति गठन गरेको जानकारी दिनुभयो । सो समितिमा दीपकबहादुर निशानी र राजरानी चौधरी सदस्य रहनुभएको छ । उपप्रमुखकै संयोजकत्वमा राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन भएको छ ।

नगरप्रमुख थारूको संयोजकत्वमा स्रोतअनुमान समिति गठन भएको छ भने उद्योग, कृषि, पशु, सहकारी क्षेत्र हेर्ने आर्थिक विकास समितिको संयोजकमा यज्ञप्रसाद न्यौपाने, भौतिक पूर्वाधार योजनाको छनोट तथा अवस्था हेर्ने पूर्वाधार विकास समितिको संयोजकमा लौटन चौधरी, सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा रामबहादुर नगार्जी, सामाजिक विकास समितिको संयोजकमा लालवीर चौधरी, वन वाततावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा बलिराम चौधरी चयन हुनुभएको छ । नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ६ का वडाध्यक्ष बलिराम चौधरीलाई दिइएको छ ।

नगरपालिकाको न्यायिक समिति, विधायन समिति भने नगरसभाले चयन गर्ने व्यवस्था रहेको छ । कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्दै नगरप्रमुख थारूले विषयगत समितिलाई सक्रिय बनाएर नगर विकासका लागि काम गर्ने बताउनुभयो । “नागरिकका समस्या समाधान र नगर विकासका लागि विषयगत समिति सक्रिय बनाउने गरी काम गर्नेछौँ,” उहाँले भन्नुभयो, “समितिको सक्रियतामा ध्यान दिनेछौँ ।”

नव निर्वाचित जनप्रतिनिधि चालु वर्षका बाँकी रहेका योजना कार्यान्वयन र आगामी वर्षका लागि नीति, बजेट तथा कार्यक्रम बनाउन छलफलमा जुटिसकेका छन् । पालिकामा नगरसभाको तयारीअन्तर्गत विभिन्न शाखासँग छलफल, योजना छनोटका लागि बस्ती तथा टोल भेला गर्ने तयारीका कार्यक्रम सुरु भएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *