नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

नवलपरासीपूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम सुरु हुनै लाग्दा वर्षाका कारण हुनसक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणको संयोजनमा भएको कार्यक्रममा तीनवटा घटनामा अभ्यास गरिएको थियो । वर्षाको समयमा बाढीमा मानिस बगाए, डुबान क्षेत्रमा मानिस घेरिए कसरी उद्धार गर्ने तथा पहिराका घटना हुँदा त्यसमा फसेका मानिसको उद्धार तथा व्यवस्थापन कसरी गर्ने भन्ने अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

अभ्यासले उद्धार टोलीलाई विपद्को समयमा सहज व्यवस्थापन गर्न सहयोग गर्नाका साथै अन्य सरोकारवाला र सर्वसाधारणलाई समेत बाढी, पहिराबाट कसरी मानिसलाई जोगाउन सकिन्छ भन्ने जानकारी प्राप्त हुने उहाँले बताउनुभयो ।

कावासोतीको पिठौलीस्थित नारायणी नदीमा नेपाली सेनाले उद्धार तथा व्यवस्थापनको अभ्यास गरेका थिए । उद्धारसँगै प्राथमिक उपचारसहित कसरी अस्पतालसम्म लैजाने भनेर नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाका रेडक्रसकर्मी र मध्यविन्दु जिल्ला अस्पतालका चिकित्सकको टोलीले अभ्याससहित जानकारी प्रदान गरेका थिए ।

मनसुन सक्रिय हुन थालेकाले जिल्लाभर बाढी, पहिराको जोखिम हुने हुँदा सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विपद्पूर्वका तयारी थालिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । जिल्लाका आठवटै पालिकामा अति सङ्कटासन्न, मध्यम सङ्कटापन्न र सङ्कटासन्न गरी तीन तहमा वर्गीकरण गरी मनसुनपूर्व तयारी र प्रतिकार योजना बनाएको उहाँले बताउनुभयो ।

“हामीले भौगोलिक अवस्थाको विश्लेषण गरी मनसुनको समयमा हुने विपद् व्यवस्थापनको तयारी थालेका छौँ, सबै पालिकासँग समन्वय गरी लागेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो । नेपाल सरकारबाट उद्धार, राहतका लागि आवश्यक सामग्री सुरक्षाकर्मीलाई उपलब्ध गराउने काम गरिएको उहाँले बताउनुभयो ।

नवलपुरमा बाढी, पहिरो, चट्याङको जोखिम रहेको उहाँले बताउनुभयो । यस वर्ष नवलपुरमा बाढी, पहिराबाट करिब ८० हजार जना प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको जनाउँदै यसको व्यवस्थापनमा सबै मिलेर सतर्कता अपनाई पूर्वतयारी गर्नुपर्ने प्रजिअ घिमिरेले बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष जोखिमको पूर्वानुमान गरिएको छ, यसकारण सबै सरोकारवाला, समुदाय मिलेर पूर्वतयारी र विपद्को समयमा हुने क्षति न्यूनीकरणका लागि लाग्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *