बाँके राष्ट्रिय निकुन्ज भित्र तीन जना बाख्रा गोठालालाई तीन बाघले घेरेपछि

बाँकेको राप्ती सोनारी गाउँपालिका १ गाभरमा तीन बाघले घेरिएका तीन गोठालाको हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको छ ।तीन बाघले घेरिएका गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।

बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिए ।बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिए।‘बाघले मलाई र बाख्रालाई टार्गेट गरेर झम्टने प्रयास गर्‍यो,’ ओलीले भने, ‘मैले र दुई नानीहरू सबैले हाट्टहुट्ट गरेँ, छिटो-छिटो रुखमा चढ्यौं।’ ओलीका अनुसार चार वटै बाघ ठूला गोरुजस्तै मोटा थिए। रुखमा चढेर उनीहरूले हारगुहार गरिरहे। तैपनि बाघको समूह आफ्नो घेरा झनै साँघुरा बनाउन थाले। ठिक त्यही बेला उनीहरूको गुहार सुनेर नजिकै बाँके राष्ट्रिय निकुञ्जका दुई हात्ती चराउँदै गरेका माउतेहरू आइपुगे।

गाभरमा हालसालै एक जना भारतीय नागरिकलाई राजमार्ग क्षेत्रबाट झम्टिएर बाघले आक्रमण गरेपछि दुई हात्ती बाघको निरीक्षण गर्न सहज होस भनेर गाभरमै ल्यार राखिएको छ। गोठालाहरू कराएपछि र हात्ती आएपछि बाघ पछि हटे।त्यहाँ झन्डै ९० वटा जति बाख्रा थिए। त्यसपछि बाघ भैंसीको पछि लागे। भैंसी लखेट्न थाले। एउटा हात्ती बाघको घेराबाट भैंसीलाई बचाउन भन्दै बाघका पछिपछि लगियो। बाघले लखेटेपछि भैंसी राप्ती नदीमा हेलिए। पाँच भैंसी राप्ती नदीको भेल तरेर पल्लो किनार खर्चवा भन्ने ठाउँ पुगे।

‘राप्तीमा ठूलो पानी छ। त्यो तरेर पारिपट्टी जान सम्भव छैन,’ ओलीले भने, ‘खर्चेमा पनि बस्ती छ, त्यहाँका स्थानीयसँग हामीले फोनमा कुरा गरेका छौं, अब भोलि गएर भैंसी लिएर आउँछौं।’एउटा सानो पाडो भने जंगलमै गायब भएको ओलीले बताए। ‘त्यो पाडोलाई बाघले खाइसके वा राति आएर आहार बनाउँछन् त्यो कुराको अत्तोपत्तो भएन,’ ओलीले भने। बाघ भैंसी लखेट्दै गएपछि ओली र अर्की एकजना महिलाले दौडाएर बाख्रा जंगलबाट धपाउँदै घरतर्फ ल्याए।

हात्ती पनि साथमै थियो। त्यसअघि बाघले घेरा हाल्दा ज्यान जोगाउन रुखमा चढेकामध्ये दुई महिलालाई हात्तीले एकै खेपमा सुरक्षित ठाउँमा पुर्‍यायो। रुखमै बसेका अर्का एक जनालाई भने अर्को खेपमा हात्तीबाट उद्धार गरी ल्याइएको बाँके राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले सेतोपाटीलाई बताए।
‘अहिले पनि डरले मेरो मुटु काँपिरहेको छ,’ ओलीले भने, ‘रातिमा दिसा-पिशाब गर्न जान समेत डर लाग्ने गर्छ।’

सहर बजारमा जस्तो घरभित्रै शौचालय गाएँमा हुँदैनन्। घरभन्दा टाढा केही दुरीमा मात्रै शौचालय निर्माण गरिएको हुँदा बाघको त्रासले रातमा बाहिर निस्किन डर लाग्ने गरेको उनले बताए।राप्ती सोनारी-१ कुसुमका स्थानीय खड्काका अनुसार विगत एक डेढ महिनायता बाघ गाभर क्षेत्रमा दिनमा चार-पाँच पटकसम्म राजमार्ग भएर ओहोरदोहोर गर्ने गरेका छन्। उनले आफूहरूको क्यामेरामा एकै साथ ६ वटा पाटेबाघको बथान हिड्ने गरेको रेकर्ड भएको बताए। चार वटा वयस्क, एउटा बच्चा र अर्को एउटा बुढो बाघ साथसाथै हिँड्ने गरेको उनले बताए।

‘बाघले जहिले पनि आफ्नो सुरक्षित बासस्थान खोज्ने गर्छ र आफ्नो पहुँचको एरियाभित्र आहारा खोज्ने गर्छ,’ खड्काले भने, ‘गाभर क्षेत्रमा धेरै छाडा पशु चौपाया जंगल जाने हुँदा तिनलाई पछ्याउँदै बाघ राजमार्ग क्षेत्र र बस्तीसम्म आउने गरेका हुन्।’
बाघको संरक्षण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज २०६७ सालमा स्थापना भएको हो। यो १०-११ वर्षको अवधिमा निकुञ्ज क्षेत्रमा बाघको संख्या राम्रोसँग बढेको र त्यसको प्रभाव मानिस तथा बस्तीमा पनि पर्दै गएको देखिएको खड्काले बताए। यी बाघ बाँके राष्ट्रिय निकुञ्जमै जन्मि हुर्किएको रेकेर्ड सन २०१८ को गणनाले पुष्टि गरेको उनले जानकारी दिए।

केही दिन पहिले मात्रै बाघले एक जना मानिस खाएपछि पछिल्लो समय गाभर क्षेत्रमा ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत हात्तीसहित खटाउँदै आइएको छ।
स्थानीयले पनि सुरक्षाको लागि जताजता माउतेले हात्ती चराउन लैजान्छन् सुरक्षाको लागि उतैउतै आफ्ना वस्तुभाउ चराउन लैजाने गरेको खड्काले जानकारी दिए।

न्युज नेपाल संबाददाता


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *