मूल्य वृद्धिको मारमा किसान

भजनी, ९ असार (रासस)ः यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला देखिएका हुन् । पछिल्लो समयमा परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ । उक्त उपकरणबाट काम गर्न सहज हुनाका साथै छिटोछरितो पनि हुने भएकाले किसानले अनुदानमा होस् वा आफै खर्च गरेर भए पनि पावरटिलर राखेका छन् तर पछिल्लो समयमा डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण पनि अपेक्षाअनुसार खेती गर्न नसक्ने अवस्थामा पुगेको किसानको गुनासो छ ।

कैलालीको टीकापुर नगरपालिका–३ का रतिराम विश्वकर्माले गतवर्ष यतिबेला तीन बिघा खेतमा धान रोपिसक्नु भएको थियो । यसपटक भने भरखरै सिँचाइको पानी खेतसम्म पुगेपनि रासायनिक मल र डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण धान रोप्ने जागर मरेको उहाँ बताउनुहुन्छ । “खेती नलगाए के खाने भन्ने पिर छ तर खेती लगाउनलाई अहिलेको महङ्गीको सामना गर्ने सामथ्र्य छैन ।” रतिराम भन्नुहुन्छ, “भोलिका दिनमा बजारमा आउने वस्तुको मूल्य अहिलेको मूल्यको आधारमा निर्धारण भए त ठिकै छ, होइन भने किसानलाई कृषिबाट आत्मनिर्भर हुने अवस्था निकै कम हुँदै गएको छ ।”

कैलालीको भजनी नगरपालिका–५ का सन्तराम चौधरीले गोरु जोतेरै तीन बिघा खेतमा धान रोप्न आँट गर्नुभएको छ । घरमा खेत जोत्नको लागि पावरटिलर पनि छ । पावरटिलर घरमा थन्क्याएर एक हल गोरुले खेत जोत्न लाग्नुभएका उहाँ डिजेलको मूल्य बढ्दै जाँदा पावरटिलर छोडेर पुरानै हल गोरु लिएर खेत जोत्न थालेको बताउनुहुन्छ । “डिजेलको मूल्य छोइनसक्नु गरी बढ्यो । अहिले यति महङ्गोमा डिजेल खरिद गरेर भोलि त्यसबाट लागत नै उठ्ने हो होइन भन्ने एकीन छैन । उत्पादनभन्दा महङ्गो लागत हुने भएपछि पुरानै शैलीमा खेती गर्नुको विकल्प छैन ।” सन्तराम भन्नुहुन्छ, “जति सकिन्छ रोप्छौँ । नसकिए बाँझै छोड्छौँ । आम्दानीभन्दा खर्च बढी गरेर मात्रै के गर्नु ?” सोही ठाउँका सागर बोहरालाई पनि उस्तै चिन्ता छ । बीउदेखि मलखाद हुँदै डिजेलसम्मको मूल्य बढेकाले किसान सबैभन्दा बढी मारमा परेको उहाँ सुनाउनुहुन्छ ।

“सामान्य कृषि गरेर जीविकोपार्जन गर्दै आएका किसान अहिलेको अवस्थामा खेती लगाउन सक्ने अवस्थामा छैनन् । किसानसँग पैसा छैन । ऋण कसैले दिँदैन । महङ्गीले सीमा नाघेको छ ।” बोहरा भन्नुहुन्छ, “त्यो पनि सहजरुपमा नत किसानले रासायनिक मल पाएका छन् । नत महङ्गोमा भए पनि खोजेको समयमा डिजेल पाइन्छ, अनि कसरी हुन्छ कृषि क्रान्ति ?” किसानलाई खेती गर्दा चाहिने आवश्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुुहुन्छ ।

किसानलाई सरकारले डिजेललगायत अन्यवस्तु सहुलियतमा उपलब्ध गराए मात्र किसानलाई कृषिमा आकर्षण गराउन सकिने भजनी नगरपालिका–१ का सञ्जय चौधरी बताउनुहुन्छ। ठूलो खर्च गरेर लगाइएको खेती प्राकृतिक विपत्तिबाट क्षति भएको अवस्थामा सरकारले त्यसको ग्यारेन्टी लिनुपर्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण बजारको महङ्गीलाई हेरेर गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । टीकापुरका किसान शिव थापाले रासायनिक मलको विकल्पमा गड््यौला मल प्रयोग गरी धान रोप्नु भएको छ । परम्परागत प्राविधि प्रयोग गरेर खेती गरे पनि सामान्य कृषि गरेर जीविका चलाउने अन्य किसानले अहिलेको महङ्गीको सामना गरेर खेती गर्ने अवस्था नरहेको उहाँ बताउनहुन्छ । “एक लिटर डिजेलले एक कठ्ठा जमिन जोत्न सकिने अवस्था छैन । एक लिटर डिजेलको करिब दुई सय पर्छ ।

सबैसँग आफ्नै साधन छ, भन्ने छैन । भाडामा साधन लिएर खेत जोत्दा रु पाँच हजारमा हुने काम आज दश हजार लाग्ने गरेको छ ।” थापा भन्नुहुन्छ , “हुने उत्पादन उस्तै हो । आज विगतमा खेती गर्दाभन्दा लागत दोब्बर भएको छ । भोलि के किसानलाई उत्पादन भएको वस्तुको मूल्य त्यसैअनुसार निर्धारण गरिएला त ?”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *