मुलगोठाली सिँचाई आयोजना सम्पन्न

म्याग्दीको बेनी नगरपालिका–५ मा मुलगोठाली–चालीसे सिँचाई आयोजना निर्माण सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले विसं २०७६ देखि शुरुआत गरेको सो आयोजना यसवर्ष निर्माण सकिएको हो । कार्यालयका ई अञ्जन खत्रीले आयोजनाबाट दुई हजार दुई सय रोपनी क्षेत्रफल जमिनमा सिँचाई सुविधा पुगेको जानकारी दिनुभयो ।

“बेनी नगरपालिका वडा नम्बर ४ र ५ का सात सय घरधुरी कृषक लाभान्वित भएका छन,” उहाँले भन्नुभयो “सिँचाई सुविधासँगै खाद्यान्नबाली उत्पादन वृद्धि हुने अपेक्षा गरेका छौ ।” भिरमुनी, डाडाखेत, कुमाल्नी, फुर्केसल्ला, बगुवाखोलाका कृषकहरु लाभान्वित भएका स्थानीय अमर बानियाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा रु। १९ लाखमा ठेक्का सम्झौतामा निर्माण भएको ५५० मिटर सहित एक हजार २०० मिटर नहर निर्माण भएको कार्यालयले जनाएको छ । मुलमा दुई वटा पानी संकलन गर्ने पोखरी निर्माण भएको छ ।

कुल रु। एक करोड ३३ लाख लागत अनुमान गरिएको योजनाका लागि विसं२०७६ मा ४४ लाख र २०७७ मा रु। १८ लाख खर्च भएको थियो । स्थानीय कृषक लेखबहादुर कटुवालले नहर निर्माण भएपछि समयमै खेतीबाली लगाउन र खडेरीमा सिंँचाई गर्न पाएको बताउनुभयो ।

“नहर नहुँदा मुलबाट फेदीको खेतमा पानी ल्याउदा सोसिएर सुक्दथ्यो,” उहाँले भन्नुभयो “नहरमा मुहानबाट जति पानी पठाएको खेतमा त्यतीनै आइपुग्छ ।” सो क्षेत्रमा धान, मकै र गहुँ खेती हुन्छ । हालसम्म वर्षमा दुई वाली खेती हुने खेतमा सिचाई सुविधा भएपछि तीनबाली लगाउन सकिने कृषकहरुले बताएका छन् ।

पानीका कारणले हुने बिवाद न्युनीकरणमा सहयोग पुगेको छ । धान रोप्न, मकै र गहुँमा पानी लगाउन पालो पर्खनुपर्ने समस्या हटेको कृषक विशाल कटुवालले बताउनुभयो । नहर निर्माणका क्रममा स्थानीय करिब २० जनाले ७५ दिनका दरले रोजगारी समेत पाएका उहाँले बताउनुभयो ।

मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक परेको समयमा नहरबाट खेतमा लैजाने व्यवस्था मिलाइएको छ । दुई पोखरीमा एक लाख लिटर पानी संकलन गर्न सकिन्छ । यसअघि खडेरी परेको समयमा पानी लगाउन नपाएर मकै, गहुँ, धानको अपेक्षाकृत उत्पादन लिन सकेका थिएनन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *