गुर्जामा उच्च घनत्वको स्याउखेती विस्तार

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

“गुर्जामा जिल्लामै पहिलो पटक स्याउखेती गरिएको छ” उहाँले भन्नुभयो “हावापानी, वातावरण र अनुकूल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउ खेती थालिएको हो ।”निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा ती बिरुवा लगाइएकामा गत वर्ष कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको थियो ।

गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगँैचा बनाएको स्थानीय अगुवा किसान गोर्खा छन्त्यालले बताउनुभयो । गुर्जाको नाइलीबाङमा २६ किसानले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका छन् । गुर्जाको स्याउ खेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ ।

यसअघि लगाइएको बिरुवामा यसपाली फूल फुलेर फलसमेत लागिसकेको छ । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिएकामा अपेक्षाकृत सफलता हासिल भएको थियो । “पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउका बिरुवा लगाउन थालिएको हो,” वडाध्यक्ष छन्त्यालले भन्नुभयो,“गुर्जामा उच्च घनत्वको स्याउ खेती सफल भएमा खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *