वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

नवलपुर, १७ असार (रासस) ः भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारमा हुनुहुन्थ्यो ।

वैदेशिक रोजगारमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको हो । वैदेशिक रोजगारबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गर्नुभएका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गर्नुभएको छ ।

नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ । यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन् । वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गर्नुभएको छ ।

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गर्नुभएका उहाँले खेती सुरु गरेकै वर्ष रु सात लाख नाफा गरेको बताउनुभयो । “लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो, “बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको रु दुई हजारमात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा रु ४० देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको छु ।”

कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उहाँले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताउनुभयो ।

उहाँका भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आउनुभएको छ । उहाँले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताउनुभयो । विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आउनुभएको थियो ।

“भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ”, विश्वराजले भन्नुभयो, “सुरुमा रु १२ लाख लगानी गरेर कुरिलो खेती सुरुआत गरेको थिएँ, अहिले वर्षमा रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।” विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा रु १२ देखि १५ लाखसम्म फाइदा हुने गरेको बताउनुभयो । कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उहाँले सुनाउनुभयो ।

भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ । “कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ”, विश्वराजले भन्नुभयो, “मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न ।” मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ ।

“कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै रु ५०० प्रतिकिलोसम्म बिक्री भएको थियो”, विश्वराजले भन्नुभयो, “अहिले पनि थोकमै रु २५० प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।” उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउनुहुन्छ । यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाडौँ हो । कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *