समृद्ध पालिका बनाउन श्रमअभिायन

हातमा औजार बोकेका व्यक्ति लर्को लागेर एकाएक सडक छेउछाउमा भएको झाडी नष्ट गर्न थाल्छन् । पक्की सडकको दायाँबायाँ सडक नै ढाकिने गरी झाडी फैलिएको छ । शनिबार यही झाडी सफा गर्दै र फाँडेका झाडीको व्यवस्थापनमा तल्लीन देखिन्थे प्रेमबहादुर भुजेल र जितेन्द्रमान तामाङ । सडक प्रयोगकर्ताका लागि घुम्ती र सिधा देखिने सडकखण्डमा पनि आवतजावत गर्न बाधा पु¥याएको झाडी सफा गरेपछि अहिले सहज देखिएको छ ।

यो दृश्य हो काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका डुम्रे–घट्टेखोला सडकखण्डको । जहाँ गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङको नेतृत्वमा पालिकाको सार्वजनिकस्थलको सरसफाइमा जुटेको टोलीले थालेको ‘समृद्ध भुम्लु निर्माणको लागि महिनाको एक दिन श्रम अभियान’को पहिलो काम हो । जहाँ गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यअनुरुप पालिकाका जनप्रतिनिधि, नागरिक र सङ्घसंस्थाको सहभागितामा सो कार्यको थालनी गरेको छ ।

जनप्रतिनिधिको नेतृत्वमा सबै पक्षको सहभागितामा भएको अभियानले गाउँको मुहार फेर्नेमा विश्वस्त बनेको स्थानीय बासिन्दा बताउँछन् । सबै आफ्नो पालिकालाई समृद्ध बनाउने जिम्मा त्यहीका नागरिकको भएकाले हरेक महिनाको एक दिन सार्वजनिकस्थलको संरक्षण, सरसफाइ तथा निर्माणको काममा लाग्ने गाउँपालिकाले नीति लिएपछि त्यहीअनुसार शनिबारबाट महिनाको एक दिन श्रमअभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भुजेलले बताउनुभयो ।

“आज हामीले बृहत् भुम्लु निर्माणको पहिलो श्रम अभियान थालनी गरेको छौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन भएकाले सबै नागरिकले सूचना पाउनुभएको छैन, अबका दिनमा आमनागरिक, जनप्रतिनिधि, पार्टीपङ्क्ति र सङ्घसंस्थाको प्रत्यक्ष सहभागितामा यो अभियान अगाडि बढ्नेछ ।” गाउँपालिका निर्माणका लागि अबका दिनमा सबै मिलेर महिनाको एक दिन सार्वजनिकस्थल पाटी, पौवा, सडक सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । अभियानमा सबै पक्षलाई परिचालन गरेर समृद्ध भुम्लु गाउँपालिका निर्माण अभियानमा जुट्ने कामको सुुरुआत भएको उहाँको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष तामाङले यसरी सञ्चालन गरेको अभियानले भुम्लुको मुहार फेर्ने आशा व्यक्त गर्नुभयो । आफ्नो ठाउँलाई समृद्ध बनाउन सबै पक्ष मिलेर सँगसँगै लाग्न आवश्यक छ भन्ने एकताको सन्देश दिने उहाँको भनाइ छ । अभियानमा प्रत्यक्ष सहभागी हुने गाउँपालिकाका आमनागरिक तथा यहाँका सङ्घसंस्था, राजनीतिक पार्टी नेतृत्वको मनमा आफ्नो गाउँपालिकाका लागि केही त गर्नुपर्छ भन्ने भावना जागृत हुने उहाँले बताउनुभयो ।

सो क्रममा दोलालघाटबाट घट्टेखोला हुँदै डुम्रे–सल्ले जोड्ने सडकखण्डअन्तर्गत डुम्रेबाट घट्टेखोलासम्मको दायाँबायाँ छेउछाउमा रहेका झाडीको सरसफाइ गरेको छ । श्रम अभियान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, विभिन्न सङ्घसंस्था, नागरिक समाज र राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *