उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो

गण्डकी, ३ साउन (रासस) ः असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन सकेको छैन ।

जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान भित्र्याउन लागेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं १३, १४, १५, २६, २७ र ३३ लगायतका विभिन्न स्थानमा यस वर्ष चैते धान खेतीका लागि पोखरा महानगरपालिका कृषि महाशाखाले सहयोग गरेको छ । कास्कीको एक हजार रोपनी क्षेत्रफल खेतमा चैते धानको बीउ सँगै प्रतिरोपनी रु ९०० का दरले अनुदान सहयोग गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । दक्षिणी भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा त्यहाँ स्थानीय कृषकको सक्रियतामा झण्डै २० वर्षयता बाँझिएको जग्गामा स्थानीयले चैते धान रोपेका छन् ।

अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोपेका हुन् । कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतमा रोपाइँ गरिएको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले बताउनुभयो ।

कृषिप्रतिको बढ्दो अनिच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाझो भएको बताउँदै आचार्यले ती जग्गामा खेती गरी उत्पादन बढाउन अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले सामूहिक चैते धानखेती गरिएको जानकारी दिनुभयो ।

चैते धानखेतीका लागि महाशाखाले सङ्घीय शसर्त धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत महाशाखाले उन्नत जातको चैते ५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । उन्नत जातको धानको बीउ विगतमा भन्दा मसिनो खालको छ । कार्यक्रमअन्तर्गत नै सिँचाइका लागि पनि सहयोग गरिएको महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

महाशाखाबाट चैते धान रोपाइँ अघि सो समूहका तीन जना कृषकलाई तालिमसमेत दिइएको बताउँदै कडरियाले आगामी दिनमा आवश्यकताअनुसार अन्य सहयोग पनि उपलब्ध गराउने बताउनुभयो ।

चैते धानको उत्पादन बढ्यो

कास्कीमा यस वर्ष चैते धानको उत्पादन बढेको छ । विगतमा प्रति रोपनी दुई तीन मुरी मात्र फल्ने चैते धान अहिले छ सात मुरीसम्म फलेको महाशाखाले जनाएको छ । “पहिलेको चैते धान मोटो जातको थियो, अहिले भने मसिनो जातको छ”, उहाँले भन्नुभयो, “विस्तारै कृषकको पनि आकर्षण बढिरहेका कारण आगामी दिनमा सहज सिँचाइ उपलब्ध हुने स्थानमा कृषकलाई चैते धान खेतीतर्फ आकर्षित गराउने योजनामा छौँ ।”

यस वर्ष चैते धान रोप्न केही ढिलो गरिएका कारण पाक्न पनि समय लागेको बताउँदै उहाँले आगामी दिनमा चैत १५ गतेभित्र रोपिसक्नु पर्ने अनुभवले देखाएको कृषक बताउँछन् । समयमा नै रोपिएमा वर्षे धान पनि समयमा नै रोप्न सकिने सामूहिक धारणा छ ।

समूहले उक्त क्षेत्रमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत राखेको समूहका सदस्य एवं कुर्लिङ पशुपन्छी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले जानकारी दिनुभयो । “सामुहिक खेतीका लागि त्यही किसिमको जागरुकता पनि आवश्यक छ”, उहाँले भन्नुभयो, “सबै कृषकलाई सङ्गठित गर्दै अघि बढ्ने हामीहरूको योजना छ ।” समूहकै सक्रियतामा कुर्लिङ बराह कृषक हित कोष स्थापना गरी प्रतिकृषक मासिक रु १०० सङ्कलन गर्न थालिएको छ ।

पछिल्ला समयमा यहाँ कृषक व्यावसायिक गाईभैँसीपालन, बाख्रापालनसँगै कुखुरापालन आदिमा व्यस्त बनेका छन् । उत्पादित भैँसी, बाख्रा, कुखराको बिक्रीका लागि बजार जानु नपर्ने र घर तथा फर्मबाटै बिक्री हुने गरेको यहाँका कृषक बताउँछन् ।

पछिल्ला वर्षमा सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बगरमा परिणत बन्दै गएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिनको कटान गरिरहेको र यसलाई रोक्नुपर्ने स्थानीयको सामूहिक आवाज छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *