सराङकोटमा लालीगुराँसका बिरुवा रोपण – News Nepal Media
Trend

महानगर प्रमुखहरुले पोखराको पर्यटकीय गन्तव्य सराङकोटस्थित शिव मन्दिर भ्यूटावर परिसरमा ११ प्रजातिका लालीगुराँसको वृक्षरोपण गर्नुभएको छ । पोखरा महानगरको आयोजनामा ‘मेयर सम्मेलन–२०७९’ का लागि पोखरा आउनुभएका देशका महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा रोप्नुभएको हो ।

पोखरा आसपासका अग्ला डाँडामा लालीगुराँस रोप्ने र खाली जमिनमा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिबार सराङकोटमा लालीगुराँसका बिरुवा सारिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

साथै अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले आवश्यक सहयोगसमेत गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो । उहाँहरूले सराङकोटजस्तो पर्यटकीय र रमणीय स्थानमा नेपालको राष्ट्रिय फूल लालीगुराँस सार्ने अवसर दिएकामा पोखरा महानगरपालिका प्रति आभारसमेत व्यक्त गर्नुभयो । हरियाली तथा सौन्दर्यकरणप्रति पोखरा महानगरको चासोलाई उहाँहरूले खुलेरै प्रशंसा गर्नुभयो ।

ती बिरुवा लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेको सहयोगमा तेह्रथुमबाट ल्याइएको हो भने नेपालमा पाइने ३२ प्रजातिकै बिरुवा खाली जग्गामा रोप्ने योजना बनाइएको छ । यसअघि पनि त्यस स्थानमा लालीगुराँसका बिरुवा सारिएको थियो ।

महानगरका अग्ला डाँडा पाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यकरणसँगै राष्ट्रिय फूलको महत्व बढ्ने विश्वास लिइएको छ । यही साउन १३ र १४ गते सम्पन्न भएको मेयर सम्मेलन पोखरा घोषणापत्र जारी गरी शनिबार साँझ सकिएको छ । पोखरा घोषणापत्रका बारेमा आज बिहान सञ्चारकर्मीलाई जानकारी दिने कार्यक्रम छ ।

सम्मेलनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह, ललितपुरका प्रमुख चिरिबाबु महर्जन, भरतपुरका प्रमुख रेणु दाहाल, वीरगञ्जका प्रमुख राजेशमान सिंह, विराटनगर प्रमुख नागेश कोइराला र आयोजक पोखराका प्रमुख आचार्यसहित उपप्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP