पर्यटकको पखाईमा छाँगे झरना

 

भोजपुर, १९ साउन (रासस) ः भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।

प्राकृतिकरूपमा मनोरम रहेको यो झरना एक सय ३९ मिटर अग्लो रहेको छ । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयवासीले यसलाई प्राकृतिको सुन्दर उपहारका रूपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झर्ना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासीको बुझाइ छ ।

यो झर्नाको विकासका लागि षडानन्द नगरपालिका तथा प्रदेश नं १ सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । भौगोलिकरूपमा विकट ठाउँमा यो झर्ना रहेकाले मानिसको उपस्थिति कम हुने गरेको छ । यहाँ भदौरे पूर्णिमा र वैशाख पूर्णिमा गरी दुईपटक मेला लाग्ने भए पनि अन्य समयमा पनि झर्ना हेर्न तथा त्यहाँ रहेका धामको दर्शन गर्न मानिस पुग्ने गरेका छन् ।

झर्नास्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचाहरूसमेत निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । झर्ना आसपासमा बस्न तथा खानका लागि उचित प्रबन्ध नहुँदा समस्या हुने गरेको छ । सुन्दरताको चिनारी बनाएको धार्मिकरूपमा समेत महत्वपूर्ण रहेको स्थानीयवासीको भनाइ छ । यहाँ रहेको छाँगे धाममा दर्शन गरेमा चिताएको काम पूरा हुने तथा रोगव्यादी निको हुने जनविश्वास रहेको

छ ।

स्थानीय इन्द्रप्रसाद धमलाले भन्नुभयो, “यो झर्ना हाम्रो ठाउँका लागि प्रकृतिको अमूल्य उपहार हो । यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । अन्य ठाउँमा रहेका यस्ता झर्नाको संरक्षण गरेर स्थानीयको जीवनस्तरमासमेत परिवर्तन आएको हामीले देखेका छौँ । यसलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्न सके यहाँ आएका पर्यटकलाई खान बस्न दिएर नै जीवनयापन गर्ने सक्ने अवस्था बन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

झर्नालाई विकास गर्दै पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उहाँले बताउनुभयो । प्रकृतिले सुन्दर उपहार दिएको भए पनि यसबाट लाभ लिन नसेकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य ठाउँमा यति अग्लो सुन्दर झर्ना कमै होलान् । हाम्रो यो ठाउँ सहरी क्षेत्रबाट टाढा तथा दुर्गम क्षेत्रमा रहेकाले मानिस आउन समस्या मान्छन् । तर बाटोको सहज आवागमन भएमा यो ठाउँ पर्यटकको पहिलो रोजाइमा पर्न सक्छ ।” झर्ना हेरिसकेपछि जो कोहीको मन लोभिने स्थानीयवासीको भनाइ छ ।

छाँगे झर्नालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रूपमा स्थापित गराउने उद्देश्य रहेको षडानन्द नगरपालिकाले जनाएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर नगरपालिकासँगै केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यो पाँचवर्षे कार्यकालमा नमूनायोग्य पर्यटकीय तथा धार्मिकस्थल बनाउने गरी पहल गर्ने उदासले जानकारी दिनुभयो ।

प्रमुख उदासले भन्नुभयो, “जिल्लाकै अग्लो झर्ना भए पनि विविध कारणले ओझेलमा छ । यसलाई उचित ढङ्गले विकास गर्दै नमूनायोग्य पर्यटकीयस्थल बनाउने योजना छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माण गर्छौँ । अलिक दुर्गमस्थलमा रहेकाले बाटोको पनि विकास गर्नुपर्ने अवस्था
छ । त्यसलाई पनि प्राथमिकतामा राखेर काम गर्छौँ । यो झर्नालाई आम्दानीको स्रोतको रूपमा विकास गर्ने मेरो लक्ष्य छ ।”

षडानन्द नगरपालिका इतिहास बोकेको स्थान रहेकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको प्रमुख उदासले सनाउनुभयो । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर एकीकृतरूपमा विकास गर्ने उहाँको भनाइ छ । सतीघाटमा रहेको ढुङ्गा संरक्षण गर्दै पार्क निर्माण गरेर त्यहाँबाट साम्पाङमा रहेको कुन्सालिङडाँडा बौद्ध गुम्बा निर्माणसँगै ७५ फिटको रिमपोचे मूर्ति राख्ने, हाँसपोखरी साउनेडाँडा हुँदै, छाँगे झर्ना पुगेर नेपालेडाँडाको ओमकार शक्तिपीठ हुँदै योगमाया समाधिस्थल मजुवाबेँसीलाई समेटेर एकीकृतरूपमा पर्यटकीय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने प्रमुख उदासको भनाइ छ ।

प्रमुख उदासले भन्नुभयो, “यो हाम्रो ठाउँ देशकै एउटा इतिहास बोकेको ठाउँ हो । यो क्रान्तियोद्धा योगमाया, बालागुरु षडानन्दले पाइला टेकेको पुन्यभूमि हो । त्यस्तै पर्यटकीय क्षेत्रको पनि उत्तिकै सम्भवाना बोकेको स्थान हो । यहाँका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई एकीकृतरूपमा समेटेर दीर्घकालीन लक्ष्यका साथ काम गर्ने योजना छ ।”

यो झर्ना संरक्षणका लागि यसअघि षडानन्द नगरपालिकाले रु १० लाख र प्रदेश नं १ सरकारले रु ५० लाख लगानी गरिसकेको वडा नं ३ का वडाध्यक्ष साङ्देम्बा राईले बताउनुभयो । यो स्थानमा साल्पापोखरी र पखुवा भञ्याङ पनि रहेकाले त्यहाँ पुग्न नसक्ने मानिस दर्शनका लागि आउने गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । यहाँ गएर दर्शन गरेर नुहाएमा विभिन्न छालाका रोग निको हुने जनविश्वास रहेको अध्यक्ष राईको भनाइ छ । वडाध्यक्ष राईले भन्नुभयो, “यो छाँगाको विकासका लागि हामी पनि स्थानीयस्तरबाट जुटेका छौँ । नगरपालिका र प्रदेश सरकारबाट गरी रु ६० लाख खर्च भइरहेको छ । यस वर्ष पनि थप काम गर्ने योजना छ । यसलाई सबैमाझ चिनाएर पर्यटन क्षेत्रबाट राम्रो आम्दानी भित्र्याउने उद्देश्य छ ।”

झर्नासम्म बस्तीबाट डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने उहाँले जानकारी दिनुभयो । यहाँको ढुङ्गामा बुद्धगुरु रिम्पोचेको मूर्तिसमेत कुँदिएको

छ । पर्यटकीयसँगै सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विषेश ध्यान दिनुपर्ने स्थानीयको माग छ । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ छ । ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय शङ्खरप्रसाद राईले बताउनुभयो । उहाँले, “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ । जिल्लाकै सबैभन्दा अग्लो झर्ना रहेको यो ठाउँ अहिले पनि कसैको नजरमा पर्न सकेको छैन । यस्ता ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक
छ । यसको प्रचार–प्रसार गर्ने हो भने पर्यटक भित्र्याउन कुनै समस्या छैन । यो आफैँमा एक सुन्दर ठाउँ
हो ।”


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *