पुल बगाएपछि आवतजावत बन्द – News Nepal Media
Trend

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ । शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो ।

विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल (साँघु) बनाइएको थियो । भारवाङको जन्मभूमि युवा क्लबका अध्यक्ष प्रवीन जुग्जालीले अस्थायी पुल पनि बगाएपछि आवतजावत बन्द भएको जानकारी दिनुभयो । “भारवाङगाउँ सडक र पैदलमार्गबाट सम्पर्कविच्छेद हुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “खोला तर्न नसकिने भएकाले वडा र पालिकाको केन्द्र, विद्यार्थीलाई विद्यालय जान आउने बाटो बन्द भएको हो ।”

धवलागिरि गाउँपालिकाको कल्लेनी, छहरी, बाँसबोट, खाम्ला, खारा, खिवाङ, मुदी, बगर, चेचुङ, नाउराका बासिन्दा दरवाङ हँुदै जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न यही बाटो प्रयोग गर्छन् । म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङबाट भारवाङ हँुदै धवलागिरिको वडा नं ६ र ४ का नौवटा बस्तीमा यही बाटो भएर खाद्यान्न ढुवानी हुने गर्दथ्यो ।

भारवाङका १५, कल्लेनी, छहरी र बाँसबोटका ४० घरधुरी पुल नहुँदा प्रत्यक्ष समस्यामा परेका छन् । सबैभन्दा ठूलो समस्या विद्यालय जाने बालबालिकालाई पर्ने देखिएको छ । बर्खे बिदा सकिएपछि उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता भारवाङवासीलाई परेको छ ।

मराङखोला म्याग्दी नदीको सहायक नदी हो । बाढी आएकाले यहाँ जङ्घार तरेर वारपार गर्न सकिने अवस्था छैन । भारवाङका करिब २० बालबालिका नौमानेको शिव आधारभूत र बिमको किसानी माविमा पढ्छन् । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मराङखोलामा बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताउनुभयो ।

“खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “भारवाङका बालबालिकालाई बिम र नौमानेमा राखेर विद्यालय पढ्ने व्यवस्था मिलाउने सोचेका छौँ ।” खोला वारपार गर्न नसकिने हुँदा धारापानी र मराङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP