
नवलपुर । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ ।
सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात सञ्चालनमा आएको बताए ।

पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालनमा आएको हो ।
चिनियाँ निर्माण कम्पनीका पूर्वी खण्डका प्रोजेक्टर म्यानेजर राकेश झाले पुल निर्माणको सबै काम सकिएपछि पुलबाट यातायात सञ्चालन गरिएको बताए ।
गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो । डाइभर्सन पनि खोलाले पटक पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।
पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन । जसका कारण साना तथा हलुवा सवारी साधन बैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठूला तथा मालवाहक सवारी साधन भने बेलाबेलामा अस्थायी डाइभर्सन गराएर पास गराउने गरिएको थियो ।
नयाँ पुल सञ्चालनमा आएसँग यात्रु तथा चालकहरुले राहत महशुष गरेका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।
दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले अव दाउन्नेमा वर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले वर्खाभरी समस्या हुन सक्ने बताए ।
यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।
पश्चिम नेपालको लाइफलाइन भनेर चिनिने बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा समयमै काम नहुँदा यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अरू खण्डमा सहज यात्रा गर्न मिल्ने गरी काम भए पनि दाउन्ने खण्डको १३ किलोमिटर सडक अहिले अस्तव्यस्त छ ।
यसपालिको बर्खा र चाडपर्वमा पनि ढुक्कसँग यात्रा गर्ने माहोल दाउन्ने खण्डकै कारणले नहुने देखिएको छ। दाउन्ने क्षेत्रमै धेरै कल्भर्ट बनाउनुपर्ने भएकाले कामले गति लिन नसकेको आयोजना कार्यालयको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतको पूर्वी खण्डमा गैडाकोटको जयश्री, चोरमाराको गिरुवारी खोला र अरुणखोलाको अरुणखोलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ भने यहाँ पर्ने अन्य पुलहरु भने निर्माण कार्य सकिएको राकेश झाले बताए ।
त्यसैगरी चोरमारा बजार, दुम्किबास बजार र दाउन्ने खण्डमा अझै कालो पत्रे हुन बाँकी रहेको छ । साउन ८ गते तेस्रो पटकको सम्झौता अवधि सकिदै छ यो बीचमा अहिले सम्म बुटवल नारायणगढ सडक विस्तारको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ ।