ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा – News Nepal Media
Trend

ठेकेदार कम्पनीको लापरवाहीले जिल्लामा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको
हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ । निर्माणस्थल सम्याउँदा फालिएको माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको पर्खाल र मैदान यही असार १७ गते राति भासिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालीन प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले कम्प्लेक्स र चिल्ड्रेन पार्क उद्घाटन गर्नुभएको थियो ।

निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ जेठ ६ गते शिलान्यास गरिएको थियो । सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना निर्माण गरिएको

छ ।

भाडावापत मासिक न्यूनतम रु दुई लाख ९७ हजार राजस्व सङ्लन गर्ने गरी रत्नपार्कमा चिल्ड्रेन पार्क र सपिङ कम्प्लेक्स निर्माण गरिएको नगरपालिकाले जनाएको छ । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सटर भाडामा उपलब्ध गराउने गरी सपिङ कम्प्लेक्स तयार पारिएको तत्कालीन नगरप्रमुख रिजालले बताउनुभएको थियो । तर निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको चार महिना नबित्दै चिल्ड्रेन पार्कको पर्खाल भासिएपछि सामाजिक सञ्जालमार्फत तत्कालीन नगरप्रमुख र ठेकेदार कम्पनीको आलोचना सुरु भएको छ ।

यस्तै प्रदेश सरकारको अनुदानमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा निर्माण गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै भासिएको छ । पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी तुवाचुङ कृषि हाटबजार निर्माण उपभोक्ता समितिमार्फत गत असार ४ गते निर्माण सम्पन्न गरिएको कृषि हाटबजारको संरचना दुई हप्ता नपुग्दै वर्षात्को पानीले भासिएको हो ।

प्रदेश सरकार कृषि मन्त्रालय १ नं प्रदेश विराटनगरको अनुदान र उपभोक्ता समितिको श्रमदान गरी रु १० लाख ६७ हजार ९८६ मा निर्माण गरिएको थियो । प्रदेश कृषि मन्त्रालयको अनुदान रु नौ लाख ६० हजार र उपभोक्ताको श्रमदान रु एक लाख सात हजार ९८६ को लागतमा पशु वधशालाको संरचना तयार पारिएको हो ।

उपभोक्ता समितिले कमसल र लापरवाही ढङ्गले काम गरेकाले हाटबजारको पर्खाल चिरा परेर भासिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाले तीन वर्षअघि सोही ठाउँमा पशु वधशालाका रूपमा प्रयोग गर्ने गरी आठ मिटरको हाटबजार ट्रस निर्माण गरेको थियो । वर्षात्को पानीले ट्रसको प्राङ्गण भासिँदा पर्खालले ठाउँ छाडेर चिराचिरा परेको देखिन्छ । यस्तै शौचालय बनाइएको भाग पनि चिराचिरा परेको छ ।

उता जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किराँत ऐतिहासिकस्थल मझुवागढीस्थित कालिका भगवती मन्दिरको टेवा पर्खालसमेत वर्षात्को पानीले भासिएको छ । मन्दिर निर्माणका लागि सम्याउने क्रममा फालिएको माटोमाथि लगाइएको पर्खाल गत शुक्रबार राति परेको अविरल वर्षाका कारण भासिएको हो ।

मन्दिरको अगाडिपट्टिको करिब ४० मिटर टेवा पर्खाल भासिएर चिराचिरा परेको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनशे घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार टेवा पर्खाल भासिएर प्रेस (बल) परेपछि मन्दिरमुनिको ताकिल वारपार चर्किएको छ ।

गुणस्तरहीन टेवा पर्खाल निर्माण गरिँदा भासिएको अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक विशन राईले बताउनुभयो । टेवा पर्खाल भासिएर ताकिलसमेत चर्किएपछि गत वर्षमात्रै पुरातत्व विभागबाट निर्माण गरिएको कालिका भगवती मन्दिर जोखिममा परेको छ ।

अहिलेलाई चिराचिरा परेको ठाउँबाट पानी पस्न नदिने बनाउनुपर्ने इञ्जीनियरले सुझाव दिएका छन् । इञ्जीनियरको सुझावअनुसार उक्त चिरा परेको ठाउँमा सिमेन्ट र बालुवा घोलेर टाल्ने काम भइरहेको छ । जिल्लामा सञ्चालित अधिकांश विकासे योजनाका काममा ठेकेदार कम्पनीका प्रतिनिधिले कम दरमा ठेक्का लिने गरेकाले गुणस्तरहीन काम भएको जानकारहरू बताउँछन् । ठेकेदारले कम दरमा कामको जिम्मा लिए पनि नियमन निकायले समयमा कडाइ गर्दा गुणस्तरीय काम हुने उनीहरुको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP