मतपत्र र निर्वाचन सामग्रीसहित मतदान अधिकृत मतदान केन्द्रमा
बैसाख २७, २०७९ मंगलबार २५ पटक हेरिएको
वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका लागि कास्कीका मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराबाट आज सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृतहरुले मतदान सामग्री बुझ्नुभएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत आकाङ्क्षा रिजालले मादी, अन्नपूर्ण, माछापुच्छ«े र रुपा गाउँपालिकाका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरुलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका ६४ प्रकारका सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिकाको केही मतदान केन्द्रमा बाहेक सबैमा मतपत्रसहित कर्मचारी पुगेका छन् । पोखरा महानगरका पनि सबैलाई साँझसम्म सामग्री प्रदान गरिसकिने बताइएको छ । मतदान अधिकृतहरुले निर्वाचन कार्यालयबाट मतदान सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेका हुन् । निर्वाचन अधिकृत रिजालले भन्नुभयो, “चारवटा गाउँपालिकामा सबै मतदान अधिृकतहरुले मतदान सामग्री बुझेर जानुभएको छ, उहाँहरु आजै तोकिएको केन्द्रमा पुग्नुहुनेछ ।” स्थानीय तह निर्वाचनका लागि कास्कीका पाँचवटा पालिकामा गरी १५० मतदानस्थल र ३३६ मतदान केन्द्र तोकिएका छन् । पोखरा महानगरपालिकामा सबैभन्दा धेरै मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सात जना कर्मचारी खटिने छन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीन जना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् । निर्वाचनमा खटिएका मतदान अधिकृतलगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधा बुझेका छन् । चार गाउँपालिकाका अधिकृतलगायतका कर्मचारीले सोमबार र पोखरा महानगरकालाई आज प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिृकत निलप्रसाद पनेरुले जानकारी दिनुभयो ।