आँबुखैरेनी–मुग्लिन खण्ड ः राति पनि सवारी साधन सञ्चालन – News Nepal Media
Trend

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि उक्त अवरोध हटाइएको हो ।

रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार सो समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार बेलुकादेखि उक्त अवरोध हटाएर सानाठूला र हेभी सवारी साधनसमेत सञ्चालन गराइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचनाअनुसार नै बन्द रहने प्रशासनले जनाएको छ ।

खोर राखियो

बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो ।

बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा भिमलाल गरञ्जा घाइते हुनुभएको छ । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको
थियो ।

चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सतर्क रहन आग्रह

बन्दीपुरमा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । दुवै आक्रमणको घटनास्थल २५० मिटर वरपर छ ।

एकचोटी आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्क रहन कार्यालयले आग्रह गरेको छ । सहायक वन अधिकृत काशीराज पण्डितले उक्त चितुवाले फेरि मानिसलाई आक्रमण गर्ने सम्भावना भएकाले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ”, उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।”

पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ”, डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ ।

विसं २०७४ फागुन १ गते पहिलोपटक जिल्लामा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP