राससको भिडियोमा दूरदराजका आवाज गुञ्जियोस्’ – News Nepal Media
Trend

काठमाडौँ, २ साउन (रासस) : सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सेवामा विविधीकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको हो । विसं २०१८ मा स्थापना भएको राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउनेछ ।

नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यमको समेत अनुरोधबमोजिम सञ्चालन गरिएको सो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गरिएको छ । राससले श्रव्यदृश्य सञ्चालनका निम्ति ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । निर्देशिका अनुसार राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी खासगरी टेलिभिजन र अनलाइन सञ्चार माध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराउने छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधीकरण गर्ने सन्दर्भमा श्रव्यदृश्य सेवा सुरु गरिएको जानकारी दिनुभयो । “हाम्रा सेवा देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन् । समय र प्रविधिको विकाससँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ । आफ्ना सेवालाई विस्तार गर्दै लैजाने क्रममा स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गरेका छौँ”, अध्यक्ष झाले भन्नुभयो । उहाँले सो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क हुने जानकारी दिनुभयो ।

राससले नेपालमा मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले समयको मागसँगै रासस सेवालाई छिटोछरितो र मल्टिमिडियायुक्त बनाउनुपर्ने सुझाव दिनुभयो । नेपालका सञ्चारमाध्यम समाचारका लागि राससमै भर पर्नुपर्ने गरी आफूलाई विकसित गर्दै लैजान पनि सचिव अर्यालको सुझाव छ ।

सो सेवामा प्राविधिक कार्यका लागि रासस र फिल्म क्रिउ नेपाल प्रालीबीच हालै सम्झौता भएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्पादकीय क्षमता वृद्धि गर्ने गरी राससले भिडियो सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

राससले सरकारका विषय र जनताका चाहना दुवैलाई प्रभावकारीरूपमा सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भिडियो सामग्री सङ्कलन, सम्पादन, वितरण, बजार प्रवद्र्धन र एजेण्डा सेटिङसम्मको लक्ष्य निर्धारण गरेर राससले उक्त सेवा सञ्चालनलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । आमसञ्चारका विज्ञ तपानाथ शुक्लले राससले भिडियो सेवालाई सहरमुखी नभई गाउँ केन्द्रित खोजमूलक विषवस्तुमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले राससको भिडियो सेवामा सार्वभौम मुलुकको दृष्टिकोणसहितका कथाहरू सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससप्रति मुलुकका सञ्चारमाध्यम भरपर्नुपर्ने वा राससको समाचारलाई विश्वसनीय स्रोत मानेर जान सक्नेगरी आफूलाई प्रविधिसँगै परिस्कृत गर्दै लैजानुपर्ने सञ्चार मन्त्रालयको सुझाव छ । राससका पूर्वप्रमुख समाचारदाता तथा वरिष्ठ पत्रकार भैरव रिसालले राससले सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको भिडियो सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो ।
नियमित प्रसारणमा करिब एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससको विश्वास
छ । समितिले आफ्नो समाचार सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआई), एशोशिएट प्रेस (एपी), एशोशिएट फ्रान्स प्रेस (एएफपी) र सिह्वा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो ।

समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैरसरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । राससले ६१ वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतले भिडियो सेवा सञ्चालन गरेर राससले आफ्नो विश्वासनीयता अझै बलियो बनाएको बताउनुभयो भने अर्का पूर्वमहाप्रबन्धक जयशङ्कर महतोले राससको भिडियो सेवामा दूरदराजका आवाजविहीनको आवाज झल्किनुपर्ने सुझाव दिनुभयो ।

पूर्वमहाप्रबन्धक ओपेन्द्र शर्माले विज्ञान र प्रविधिको विकासँगै राससले भिडियो सेवा गर्नु सेवाग्राहीका निम्ति खुसीको खबर भएको बताउँदै सो भिडियो सेवालाई प्रभावकारी बनाउने गरी विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकाटाले राससले भिडियो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै सातै प्रदेशको छुट्टाछुट्टै युनिटका रुपमा मुलुकका महत्वपूर्ण घटना र समाचारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटका महासचिव लक्ष्मण उप्रेतीले राससको भिडियो सेवालाई प्रविधिसँग जोडेर खोजमूलक पत्रकारितामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । राससका नायबमहाप्रबन्धक तथा श्रव्यदृश्य शाखा प्रमुख राजु शाक्यले देशभित्र र बाहिरका सञ्चार माध्यमलाई मुलुकका महत्वपूर्ण घटना र विषयवस्तुसँग सम्बन्धित श्रव्यदृश्य समाचार सेवा उपलब्ध गराउने लक्ष्यअनुरुप भिडियो सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा विशिष्ट व्यक्तिको सम्बोधन, महत्वपूर्ण गतिनिधि र घटनाका बारेमा प्रत्येक्ष प्रसारण गर्ने योजना रहेकोसमेत जानकारी दिनुभयो ।

समितिको श्रव्यदृश्य सेवाले सङ्घीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुको सुझाव छ । विसं २०५२ मा राससले नेपालगञ्ज, विराटनगर, पोखरा र काठमाडौँबाट समाचारसँगै भिडियो सामग्री नेपाल टेलिभिजनलाई उपलब्ध गराएको थियो । भिडियो सेवालाई प्रविधि सम्पन्न बनाउन नसक्दा उक्त सेवा बन्द भएको थियो ।

नेपालको पहिलो समाचार समिति निजी क्षेत्रबाट २०१६ पुस १ गते स्थापित ‘नेपाल संवाद समिति’ (नेसस) हो । नेसस) का संस्थापकहरु पत्रकार गोपालदास श्रेष्ठ, मदन शर्मा, गोविन्द वियोगी र गणेश मानन्धरको पहलमा नेपालमा पहिलोपटक समाचार समितिको स्थापना गरिएको थियो । दोस्रो समाचार समिति पनि निजी क्षेत्रबाटै २०१७ वैशाख ३० गते स्थापित ‘सगरमाथा संवाद समिति’ (ससस) हो । निजी क्षेत्रका यी दुई समाचार समितिलाई गाभेर सरकारी सञ्चार माध्यमका रुपमा २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) स्थापना भएको हो । राष्ट्रिय संवाद समितिलाई २०२८ सालदेखि राष्ट्रिय समाचार समिति (रासस) भन्न थालिएको हो ।

राससले २०१८ फागुन ७ गतेदेखि निरन्तर नेपाली भाषामा समाचार दिँदै आएको छ । विसं २०५२ वैशाख १ गतेदेखि राससले आलेख (फिचर) सेवा सुरु गरेको हो । राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोका अनुसार राससले अहिले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म १०० भन्दाबढी नेपाली भाषाका समाचार सम्प्रेषण हुने गरेको छ । पहिले बिहान, मध्याह्न, अपराह्न, साँझ र रात्रि गरी दिनमा पाँच पटक र पछि एक–एक घण्टाको अन्तरमा बुलेटिन सेवा दिँदै आएको राससले अहिले समाचार प्राप्त हुनासाथै दिने गरी अनलाइन सेवा सञ्चालन गर्दै आएको छ ।

राससले २०१९ माघ ३ गतेदेखि अन्तर्राष्ट्रिय समाचार सेवा सुरु गरेको थियो । खासगरी राससले एएफपी, एपी, सिन्हवा, क्यादो, पिटिआइ र यानहापसँग समाचार आदानप्रदानको सम्झौता गरको छ । त्यसैगरी राससले २०२० सालदेखि अङ्ग्रेजी समाचार सेवा, २०५५ सालदेखि आलेख सेवा र २०६६ सालदेखि अडियो सेवा उपलब्ध गराउँदै आएको छ । विसं २०५६ देखि लामो समयसम्म विदेशी समाचार समितिका तस्विर मात्रै दिँदै आएको राससले २०६४ बाट नियमितरुपमा स्वदेशी तस्विर पनि सम्प्रेषण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP