📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

🕒 June 14, 2022

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा डोटीमा निकै समस्या भएको थियो, अब अस्पतालमै अक्सिजन प्लान्ट जडान भएको छ । बिरामीलाई सहज हुने छ ।” उहाँले जिल्ला अस्पतालको स्तरोन्नतिसहित आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताउनुभयो ।

गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानका लागि रु ८० लाख बजेट छुट्याइएको भए पनि ठेक्कामार्फत रु ६५ लाख २५ हजारमा जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ । उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनभित्रमै अस्पतालका २५ बेडमा सिधा अक्सिजन आपूर्ति गरिने छ ।

विगतमा अक्सिजन अभावका कारण महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा दर्जनौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोनाजस्ता घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु खुसीको कुरा भएको स्थानीयवासी अमरबहादुर साउदले बताउनुभयो ।

अक्सिजन प्लान्ट स्थापनासँगै अब जिल्ला अस्पताल डोटीले यहाँका धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ । जसका कारण अस्पतालले खरिददेखि ढुवानीसम्मको अक्सिजनमा गर्दै आएको खर्चमासमेत बचत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नीराजन श्रेष्ठले बताउनुभयो । अस्पतालले रु ७०० देखि लिएर एक हजारसम्मका दरले सिलिण्डर खरिद गर्ने गर्दै आएको थियो । खरिद गरिसकेपछि पनि ढुवानी गर्दा त्यत्तिकै रकम खर्च लाग्ने समस्या पनि समाधान भएको छ ।