व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न
नवलपुर, जेठ २८ गते | कावासोती नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापन तथा शैक्षिक उपलब्धि अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार जनता माध्यमिक विद्यालय, त्रिभुवनटारमा सम्पन्न भएको छ।
कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १४, १५, १६ र १७ का जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।

अन्तरक्रियामा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयनका विषयमा व्यापक छलफल गरिएको थियो। निःशुल्क शिक्षा घोषणा आवश्यक भए–नभएको, कार्यान्वयनको समय र प्रक्रिया, विद्यालयमा लिन पाइने तथा नपाइने शुल्कका विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।
त्यसैगरी शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक आधार र मापदण्ड, सिकाइ उपलब्धि, विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तथा प्रधानाध्यापकको व्यवस्थापन र परिचालन, छनोट तथा कार्यसम्पादन करार, क्षमता अभिवृद्धि, दण्ड–पुरस्कार प्रणाली, दरबन्दी मिलान तथा विषयगत समायोजन, विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया र उत्तरदायित्वका विषयमा पनि विस्तृत छलफल भएको थियो।

विद्यालयको संगठन संरचना कस्तो बनाउने, ईसिडीदेखि कक्षा ५, ८, १० वा १२ सम्मको शैक्षिक संरचना, साथै शिशु स्याहार केन्द्रलाई छुट्टै सञ्चालन गर्ने वा विद्यालयभित्रै व्यवस्थापन गर्ने विषय पनि अन्तरक्रियाको मुख्य एजेन्डा बनेका थिए।
कार्यक्रमको अध्यक्षता कावासोती नगरपालिका वडा नम्बर १७ का अध्यक्ष चुणामणी थनेतले गर्नुभएको थियो। विशेष अतिथिका रूपमा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाई, शिक्षा अधिकृत राजन पाण्डे, स्रोत शिक्षक तीर्थ कडेल तथा वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै कावासोतीका १५ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय र सर्वसुलभ शिक्षाको लक्ष्य प्राप्तिका लागि यस्ता अन्तरक्रियाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
