📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

लुम्बिनी प्रदेश बजेट : राजधानीको व्यवस्थापनमा जोड

🕒 June 16, 2022

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा गौरवका आयोजनाका रुपमा प्रदेशको राजधानीको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

सरकारले आगामी आवमा राजधानी व्यवस्थापनको कार्य सम्पन्न गरी रुपन्देहीस्थित प्रदेशका केन्द्रीयस्तरका निकाय स्थायी राजधानीमा स्थानान्तरण गरिने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । सरकारले प्रदेश राजधानी व्यवस्थापनका लागि दाङको देउखुरीमा रहेको राप्ती प्राविधिक शिक्षालयलाई गढवा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरी नमूना शिक्षालयको रुपमा विकास र व्यवस्थापन तथा सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागि रु सात करोड ५० लाख विनियोजन गरेको छ ।

हाल शिक्षालय सञ्चालनमा रहेको राप्ती प्राविधिक शिक्षालयको संरचनालाई राजधानीको व्यवस्थापनको रुपमा प्रयोगमा ल्याउने गरी बजेट विनियोजन गरिएको छ । प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गर्नुभएको बजेटमा प्रदेशको राजधानी तोकिएको दाङको देउखुरीमा रहेको राप्ती उपत्यकामा राजधानी व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखरेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै प्रदेश गौरवका आयोजनाको रुपमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनावाङ) सम्मको सडकलाई प्रादेशिक गौरवका आयोजनाको रुपमा अगाडि बढाइने प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । प्रदेश गौरवका यी आयोजनाका लागि रु एक अर्ब ६९ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले जानकारी दिनुभयो । विनियोजित बजेटसँगै आयोजनाको कार्यान्वयनका लागि स्रोत अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको छ ।

प्रदेश गौरवका आयोजनाका लागि विनियोजित बजेट प्रदेश गौरवका आयोजनाबाहेक अन्य आयोजनामा रकमान्तर गर्न नपाइने व्यवस्था मिलाइएको छ । सरकारले आयोजना कार्यान्वयनका लागि खटाइने आयोजना प्रमुख र सम्बन्धित मन्त्रालयको सचिवबीच कार्यसम्पादन सम्झौता गर्ने व्यवस्थासमेत गरिएको छ ।

यस्तै प्रदेश गौरवका आयोजना, प्रादेशिक रुपान्तरणकारी आयोजना र बहुवर्षीय आयोजनालगायतका आयोजनाको अनुगमन कार्यलाई व्यवस्थित गर्न प्रादेशिक योजना अनुगमन विद्युतीय प्रणालीको विकास गरी कार्यान्वयन गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले स्थायी राजधानीमा मन्त्रालय स्थानान्तरण हुँदा प्रदेशका सबै सरकारी निकायले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री खरिद गर्दा स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने बजेटमा उल्लेख छ ।

यस्तै दिवङ्गत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्झनामा प्रदेशको राजधानी राप्ती गाउँपालिकामा ‘सुशील कोइराला स्मृति पार्क’ निर्माणका लागि गुरुयोजनासहित विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य प्रारम्भ गर्न रु एक करोड विनियोजन गरिएको छ । आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले आव २०७९÷८० का लागि रु ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित उक्त बजेटअन्तर्गत चालु खर्चतर्फ कूल बजेटको ३१.२६ प्रतिशत अर्थात् रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार तथा पुँजीगत खर्चतर्फ कूल बजेटको ५७.४१ प्रतिशत अर्थात् रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रहने अनुमान गरिएको छ ।

बजेटमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सःशर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि कूल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी रु चार अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।