📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

छात्राबास भवन निर्माण

🕒 June 26, 2022

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय विद्यालयको छात्राबास निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त गाउँपालिकाले ठेक्कामार्फत झिनडाडाँमा तीनतले १२ कोठे भवन निर्माण गरेको हो । गाउँपालिकाका पूर्वाधार शाखाप्रमुख सवइञ्जिनीयर लोकेन्द्र रावलले रु दुई करोड ५५ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड र २०७७÷७८ मा रु एक करोड ४० लाख विनियोजन भएकामा जुम्ली माछापुच्छे« जेभीले पहिलो पटक रु एक करोड १५ लाख र दोस्रो पटक रु एक करोड ४० लाखमा ठेक्का सम्झौता गरेको थियो”, उहाँले भन्नुभयो, “ठेक्का सम्झौताअनुसारको सबै निर्माणका काम सके पनि प्रदेशको सामाजिक विकास मन्त्रालयबाट बजेट निकासा नहुँदा रु ९० लाख भुक्तानी गर्न बाँकी छ ।”

भवनमा करिब १०० विद्यार्थीलाई आवासीय सुविधा दिनसक्ने क्षमता छ । विकट क्षेत्रका विपन्न बालबालिकालाई सहजरुपमा आधारभूतस्तरको शिक्षाको पहुँचमा ल्याउन उक्त गाउँपालिकाले आव २०७६÷७७ देखि शिवाङको हेम माविलाई नमूना आवासीय माविमा रुपान्तरण गरेको थियो ।विद्यालयको पुरानो छात्राबास भवनमा बस्दै आएका विद्यार्थीको सहज बसाईं व्यवस्थापनका लागि नयाँ र सुविधायुक्त भवन निर्माण भएको हो । विद्यालयका प्रअ शेरबहादुर केसीका अनुसार हाल २६ बालबालिकाले आवासीय सुविधा पाएका छन् । भवन हस्तान्तरण भएपछि बन्दोबस्तीका सामग्री व्यवस्थापन गरेर छात्राबास प्रयोगमा ल्याउने तयारी गरिएको छ ।

छात्राबासको व्यवस्थापनका लागि आगामी आवमा रु १० लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । छात्राबासमा निःशुल्क खाने, बस्ने सुविधा दिइएपछि भौगोलिकरुपमा दुर्गम र विकट क्षेत्रका विपन्न तथा अनाथ बालबालिकालाई सहजरुपमा शिक्षा हासिल गर्न सुविधा पुगेको छ । सरकारी विद्यालयमा आवासीय सुविधा भएपछि दैनिक दुई÷तीन घण्टा दुःख कष्टका साथ भिर, जङ्गल र खोलाको बाटो पैदल हिँडेर स्कुल जानुपर्ने समस्या अब हटेको छ । गरिबी र पारिवारिक वातावरण नभएर विगतमा पढाइ छोड्नेक्रम अहिले घटेको छ ।

आवासीय विद्यालयमा गरिब, अपाङ्ग अभिभावक, अनाथ र नजिक विद्यालय नभएका कारण शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ । विकट र थोरै घरधुरीको बसोबास भएको बस्तीका बालबालिका आधारभूतस्तरको शिक्षा हासिल गर्नका लागि दैनिक दुई तीन घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने, पढ्नका लागि डेरा लिनुपर्ने वा आफन्तकहाँ बस्नुपर्ने समस्या अन्त्यका लागि आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।