📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

🕒 July 25, 2022

साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो ।

पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् । केही भारतीय स्वामीहरुले आज पशुपतिनाथको दर्शन गर्नुभएको
थियो । जुना अखडाका स्वामी यतीन्द्रानन्द, राष्ट्रिय स्वयंसेवक सङ्घका उपप्रमुख इन्द्रेशकुमार, भारतको केही प्रान्तका पूर्वमुख्यमन्त्रीहरुले समेत आज पशुपतिनाथमा दर्शन गर्नुभएको उहाँले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीको पनि आज उल्लेख्य सहभागिता छ । सुन्दरीजलबाट शुद्ध जल लिएर आई बोल बम यात्रीले पशुपतिनाथ मन्दिरमा अर्पण गरिरहेका छन् । बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउन चाहनेको चार ढोकामध्ये एक ढोकामा व्यवस्था गरिएको जनाइएको छ । साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउन भगवान् शिवजीको महीना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो । साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ ।

यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् ।