📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

महोत्तरीमा एक सय ४३ मतदानस्थल अतिसंवेदनशील

🕒 October 14, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई अतिसंवेदनशील र एक सय १४ संवेदनशील घोषित गरिएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण÷निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको जिल्लाका मुख्य प्रशासक प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताउनुभयो । “स्थानीय (जिल्ला) प्रशासन अहिलेदेखि नै निर्वाचनसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ”, उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालित भइसकेका छन् ।” यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने छ ।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई सय ५८ मतदानस्थल र चार सय ९९ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ । “हामी (जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ”, प्रजिअ पहाडी भन्नुहुन्छ, “करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा जिल्लासँग जोडिएका भारतीय जिल्ला मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ ।”

यो अवस्थालाई मध्यनजर गर्दै अहिलेदेखि नै आवश्यक प्रबन्धमा जुटेको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ पहाडीको भनाइ छ । जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य)मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचन तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ । आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ । निर्वाचनलक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको प्रजिअ पहाडीको भनाइ छ ।

सुरक्षा बन्दोबस्ती कार्यमा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मतदानस्थल र उम्मेदवारको सुरक्षा, आचारसंहिताको सुक्ष्म अनुगमनलगायतका विषयलाई विशेष ध्यान दिएर सशस्त्र प्रहरीको कमाण्डमा सुरक्षा गस्ती परिचालन गरिएको प्रजिअ पहाडीले जानकारी दिनुभयो ।

“आम मतदाताले सुरक्षाबारे ढुक्क भएर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ”, पहाडी भन्नुहुन्छ, “जिल्लामा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन र सुरक्षा निकायको योजनामा राजनीतिक दल र सबै उम्मेदवारको सद्भाव र सहयोग आवश्यक छ ।”

जिल्लाका चार प्रतिनिधिसभा र आठवटै प्रदेशसभामा गरी अहिले दुई सय २६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन् । दलका नेता, उम्मेदवार र कार्यकर्ताको सघन गतिविधिले जिल्लामा चुनावी माहोल तात्दै छ । जिल्लामा यसपालि जम्मा तीन लाख ९७ हजार ३० मतदाता छन् । जसमा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ९८ महिला र एक तेस्रोलिङ्गी (अन्य) रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।