📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाँकेमा नमूना मतदान सुरु

🕒 November 2, 2022

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।

जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिनुभयो । स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतिरकण र तीन घण्टा नमूना मतदान अभ्यास हुने छ । “मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो”, प्रमुख पन्तले भन्नुभयो ।

उहाँले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिनुहुदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन् । नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताउनुभयो ।

मतदाता शिक्षा पनि लागू हुँदै

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा मतदाता शिक्षा पनि लागू गर्ने तयारी भएको छ ।
कात्तिक १८ गतेबाट गाउँदेखि सहरसम्म १५ दिने मतदाता शिक्षा सञ्चालनमा ल्याइने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।

त्यसका लागि वडा वडामा एसएलसी सरहको स्वास्थ्य स्वयंसेविका नियुक्त गरेर घरदैलोमा मतदाता शिक्षा प्रदान गर्ने तयारी भएको जिल्ला निर्वाचन प्रमुख पन्तले जानकारी दिनुभयो ।

“यसको मुख्य उद्देश्य भनेको स्थानीय निर्वाचनमा बढेको बदर मतको सङ्ख्या यस पटकको निर्वाचनमा घटाउने हो”, उहाँले भन्नुभयो ।
उहाँले नयाँ नियुक्त भएका स्वास्थ्य स्वयंसेविका हातहातमा ब्रोसर र मतपत्र बोकेर प्रत्येक घर घर पुग्ने बताउनुभयो । मतदाता शिक्षाका लागि आठ जना अनुगमन अधिकृतसहित बाँकेका सबै पालिकाका ८१ वडाबाट स्वास्थ्य स्वयंसेविका ८१ गरी ८९ जना कर्मचारी परिचालन हुने छन ।

मतदातालाई खास गरी मतपत्र पटाउने, मताधिकारको प्रयोग, कस्तो मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने भन्ने लगायतका विषयमा सिकाइने छ ।