📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

नारायणघाट–बुटवल सडकमा चरम लापरबाही, एक साताभित्र मर्मत गर्न निर्देशन

🕒 May 31, 2024 ✍ न्युज नेपाल संबाददाता

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन दिनभित्रमा काम सुरु गरेर एक हप्ताभित्र मर्मतको काम सक्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “एक दिन परेको पानीले त अवरोध भएर बाटो अस्तव्यस्त भयो । बर्खामा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले बर्खामा कुनै अवरोध नहुने गरी एक हप्तामा मर्मतको काम सम्पन्न गर्नूस् ।” निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले भने बजेटको अभाव देखाउँदै घुमाउरो ढङ्गले काम सुरु गर्न नसक्ने जवाफ दिएको छ । चिनियाँ ठेकेदार प्रमुख योहाङ जेनखुनले भन्नुभयो, “हामीसँग भएको बजेट छिट्टै सकिने भएकाले काम गर्न समस्या भइरहेको छ ।”

हस्तक्षेप गर्ने चेतावनी

ठेकेदार कम्पनीको कुरा सुनेपछि सडक आयोजनाले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । नारायणघाट–बुटवल सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत थाल्न निर्देशन दिँदै भन्नुभयो, “मर्मत गर्नुपर्ने अहिले हो । तपाईंहरूले पैसा छैन भनेर यात्रुलाई दुःख दिन पाउनुहुन्न । तपाईंहरू गर्न सक्नुहुन्न भने हामी गर्छौं । तपाईंहरूबाट पछि सोधभर्ना लिन्छौँ ।” उहाँले सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको प्रस्ट पार्दै निर्माण पक्षले दायित्व पूरा नगरे सम्झौता अनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

चिनियाँ पक्षकै दबाब

अन्तिम पटक थपिएको म्याद सकिनैलाग्दा निर्माण कम्पनीले भने म्याद थप्न दबाब बढाएको छ तर यसबारेमा आयोजना प्रमुख थापाले दबाब दिएर नहुने बताउँदै सम्पन्न भएको कामको पैसा दिएर काम अगाडि बढाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “काम गरे भुक्तानी हुन्छ नगरे हुन्न । यो पैसा छैन भनेर सधैँभरि सबैले दिने बनिबनाउ जवाफ हो । नगद प्रवाहको समस्या छ भन्नुहुन्छ । व्यवस्थापन गर्ने जिम्मेवारी उहाँहरूकै हो । जति काम हुन्छ नापेर त्यसकै आधारमा पैसा पाउँछ ।”

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि एक हप्तामा मर्मतको काम नसके आयोजनाले नै गर्ने र पछि त्यसको सोधभर्ना चिनियाँ ठेकेदार कम्पनीबाट भराउने चेतावनी दिनुभयो । यसअघि आयोजनाले ठेकेदार कम्पनीलाई फिल्डमै लगेर कुन कामलाई प्राथमिकतामा राखेर कसरी गर्ने भनेरसमेत निर्देशन दिएको थियो ।

मर्मत गर्नै पर्छ, विकल्प छैन

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले दाउन्नेमा पाँच किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू ठाउँमा पहिरो जाँदा, बाटो भत्किँदा वैकल्पिक मार्ग निर्माण गर्न सकिन्छ तर लाइफलाइनका रूपमा रहेको दाउन्नेमा यस्ता कुनै विकल्प नभएकाले बर्खा लाग्नुअघि नै मर्मत गर्नु पर्छ । पछि गरौँला भनेर हुन्न ।”

गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर राकेश झाका अनुसार दुवै खण्ड गरेर हालसम्म ५१.६१ प्रतिशत भौतिक प्रगति अर्थात् २८ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । दुईतर्फी जोडेर ४३ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ साल चैतमा नारायणघाट–बुटवल सडकको शिलान्यास गरिएको थियो तर पाँच वर्षको अवधिमा पनि बाटो विस्तारको कामले सोचे अनुसार गति लिन नसकेपछि दुई पटक म्याद थपिइसकेको छ । पहिलो पटक एक वर्ष म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । पछिल्लो पटक भदौ ११ गतेदेखि लागु हुने गरी ३३० दिनको म्याद थप भएको छ, जुन आगामी साउनमा सकिँदै छ ।