मध्यविन्दुले १ अर्ब ३ करोड १६ लाखको बजेट ल्यायो, शिक्षा र पूर्वाधारमा उच्च प्राथमिकता

👤 adminnews | 🕒 १८ घण्टा अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब तीन करोड १६ लाख ७१ हजारको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक पूर्णकला चौधरीले बजेट प्रस्तुत गर्नुभएको हो ।प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ६५ करोड २० लाख १२ हजार र पुँजीगततर्फ रु ३७ करोड ९६ लाख ५९ हजार विनियोजन गरिएको छ । कुल बजेटमध्ये सामाजिक विकासतर्फ सबैभन्दा बढी रु ४४ करोड १२ लाख ६१ हजार, पूर्वाधार विकासतर्फ रु ३५ करोड ८८ लाख ७४ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु १६ करोड ६८ लाख ७४ हजार, आर्थिक विकासतर्फ रु चार करोड ४२ लाख ३२ हजार तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ रु दुई करोड चार लाख ३० हजार विनियोजन गरिएको छ ।

नगरसभामा प्रस्तुत बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ । कृषि तथा पशुपन्छी विकासका लागि रु दुई करोड छ लाख ५० हजार, युवा रोजगार, उद्यमशीलता प्रवद्र्धन तथा सीप विकास कार्यक्रमका लागि रु ६५ लाख तथा समग्र आर्थिक विकास क्षेत्रका लागि रु तीन करोड २१ लाख ३२ हजार विनियोजन गरिएको छ ।स्वास्थ्य क्षेत्रतर्फ आधारभूत स्वास्थ्य सेवा केन्द्र र नगर अस्पतालको सुदृढीकरण, निःशुल्क औषधि, विशेषज्ञसहितका स्वास्थ्य शिविर, स्वास्थ्य बीमा तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रका लागि नगर स्रोतबाट रु दुई करोड ३० लाख ८४ हजार विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रतर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिकमा थप सुविधा, निःशुल्क पाठ्यपुस्तक वितरण, डिजिटल शिक्षण प्रणाली विस्तार तथा ‘हाम्रो खुसी’ पाठ्यक्रमलाई थप प्रभावकारी बनाउने कार्यक्रम समेटिएको छ । शिक्षा तथा खेलकुद कार्यक्रमका लागि नगरतर्फबाट रु तीन करोड ७१ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ ।पूर्वाधार विकासतर्फ वडा स्तरीय योजनाका लागि रु नौ करोड ३३ लाख छुट्याइएको छ । रणनीतिक सडक स्तरोन्नति, कालोपत्रे, हाईमास्ट लाइट जडान, मध्यविन्दु स्तम्भ पूर्वाधार निर्माण, फलामे पुल, पार्क स्तरोन्नति, खानेपानी तथा विभिन्न सडक आयोजनालाई निरन्तरता दिइने भएको छ ।नगर प्रमुख भिमलाल अधिकारी ले सीमित स्रोत र बढ्दो वित्तीय दबाबका बाबजुद नगरवासीको प्रत्यक्ष जीवनस्तरसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित बजेटले नगरको समृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्वमा दबाब बढिरहेका बेला पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई केन्द्रमा राखेर बजेट निर्माण गरेका छौँ,” नगर प्रमुख अधिकारीले भन्नुभयो, “यसले समृद्ध मध्यविन्दु र खुसी नगरबासीको लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्नेछ ।”

उपप्रमुख पूर्णकला चौधरी ले बजेट निर्माण गर्दा सीमित स्रोत र असीमित आवश्यकताबीच सन्तुलन कायम गर्न खोजिएको बताउनुभयो । उहाँका अनुसार मानवीय मूल्यसहितको गुणस्तरीय शिक्षा, नागरिकको पहुँचमा भरपर्दो स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण तथा दिगो पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ ।“नगरवासीको अपेक्षालाई सम्बोधन गर्ने गरी सामाजिक न्याय, समावेशी विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका छौँ,” उपप्रमुख चौधरीले भन्नुभयो, “यसले आर्थिक विकाससँगै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।”चालु आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाको अनुमानित कुल आय रु एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार रहेकोमा हालसम्म रु ९३ करोड ७२ लाख ३५ हजार अर्थात् लक्ष्यको ८९ प्रतिशत आय प्राप्त भएको नगरपालिकाले जनाएको छ । सो अवधिमा कुल बजेटमध्ये रु ६८ करोड १२ लाख ९८ हजार खर्च भई ६४ दशमलव ७ प्रतिशत वित्तीय प्रगति हासिल भएको विवरण प्रस्तुत गरिएको छ ।नगरसभाले प्रस्तुत बजेटमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ ।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top