शिवनाथमा विद्युतीय भुक्तानी सेवा – News Nepal Media
Trend

बैतडीकोे शिवनाथ गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेको छ । ‘केस लेस’को अवधारणाअन्तर्गत विद्युतीय भुक्तानी सुरु भएको गाउँपालिकाका लेखा प्रमुख देवराज सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरेको हो । चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकोमा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो ।

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा शिवनाथले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो । योसँगै शिवनाथ गाउँपालिका विद्युतीय भुक्तानी सुरु गर्ने जिल्लाकाृे दोस्रो पालिका बनेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले यसअघि नै विद्युतीय भुक्तानी सुरु गरिसकेको छ ।
विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य हुनुका साथै पारदर्शिता र सुशासन कायम गर्न सहयोग मिल्ने शिवनाथ गाउँपालिकाका अध्ययक्ष कर्णसिंह साउँदको विश्वास रहेको छ । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ । उहाँले भन्नुभयो, “विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्छ, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने विश्वास लिएका छौँ ।”

यसैबीच जिल्लाको पाटन नगरपालिकाले अनलाइबाट नगरवासीको सुझाव सङ्कलन गरेको छ । नगरपालिका घर भई काम तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर तथा विदेशमा रहेकाबाट नगरपालिकाले ‘भर्चुअल’ मिटिङको आयोजना गरेर सुझाव सङ्कलन गरेको हो । तीन दिनसम्म चलेको जुम मिटिङबाट पाटन नगरपालिकाको विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा नगरबासीहरुबाट सुझाव सल्लाह संकलन गरिएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाटन घर भई विभिन्न कामले बाहिर रहेका विज्ञ र बौद्धिक नागरिकबाट अगामी आर्थिक वर्षका लागि नगरपालिकाले ल्याउनुपर्ने कार्यक्रमका लागि सुझाव सल्लाह मागेका हौँ, बढ्दो बेरोजगारीको समस्या समाधानका गर्न, कृषिको क्षेत्रमा बजारीकरणको समस्या सामाधान, शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गर्न मिटिङमा सहभागीले सुझाएका छन् ।” नगरवासीबाट महत्वपूर्ण सुझाव आएकाले सोही अनुसार विकासका काम अघि बढ्ने नगरप्रमुख रावलले बताउनुभयो ।

कालाजारबाट एकको मृत्यु, आठ सङ्क्रमण

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका आठ जनामा कालाजारको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म आठ जनामा कालाजारको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानका आठ जनामा कालाजार देखिनुका साथै र कालाजारबाट एकजनाको मृत्युसमेत भइसकेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका चार जना, सुर्नया गाउँपालिकाका दुई जना, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक÷एक जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । कालाजार देखिएकामध्ये शिवनाथका एक जनाको तीन वर्षीय बालकको केही महिना पहिला मृत्यु भएको थियो ।

यसैबीच आठ जनामा कालाजार पुष्टि भएपछि सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाको परीक्षण गर्ने कार्य भइरहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा २५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २५ जनाको नमूना सङ्कलन गरेर परीक्षण गरेका छौँ ।”

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयको कालाजार परीक्षण गरेको हो । नमूना सङ्कलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले बताउनुभयो । कालाजार समुदायका अरु व्यक्तिमा पनि हुनसक्ने भएकाले परीक्षण गरिएको हो । नमूना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कालाजार भए÷नभएको रगत परीक्षणबाट थाहा हुन्छ ।

‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजार सर्ने गर्दछ । भुसुनाको टोकाइबाट बच्नु नै यसको सङ्क्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यसका साथै व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको सङ्क्रमण हुने, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनुलगायतका लक्षण देखा पर्दछन् ।

कालाजारबाट बच्नका लागि साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने, बाहिर जाँदा वा असुरक्षित घरमा बस्दा मौसमअनुसार सहनसक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने, लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने, शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुला भागमुनि कीरा भगाउने मलहम लगाउने, खुला झ्यालढोकामा जाली लगाइएको वा वातानुकूलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने, स्यान्ड फ्लाई नामका भुसुना लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालबाट पनि सजिलै छिर्न सक्छन् ।

सुत्ने वा विश्राम गर्ने स्थानमा कीरा मार्ने विषादी छर्कने, झ्यालढोकामा जाली नलगाइएको वा वातानुकूलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीरा छिर्न नसक्ने बनाउनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP