प्रशासकीय भवन निर्माण – News Nepal Media
Trend

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मौलिक शैलीको प्रशासकीय भवन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र कागबेनीमा तिब्बती कला र संस्कृति झल्कने दुईतले २४ कोठे भवन निर्माण भएको हो ।

गाउँपालिकाका अध्यक्ष रिङजिन नामग्याल गुरुङले भवनमा मुस्ताङको धार्मिक संस्कृति झल्किने गरी भित्ते लेखन र संरचना निर्माण गरिएको बताउनुभयो । “मौलिकता झल्किने गरी भवनको बाहिरी आवरण, फर्निचर, प्रवेशद्वारमा भित्ते लेखन र रङरोगन गरिएको छ”, उहाँले भन्नुभयो, “मौलिकताको संरक्षण÷सम्वद्र्धन र प्रचारप्रसार गर्ने गरी अन्य पालिका भवनभन्दा किसिमको भवन बनाइएको हो ।”

भवनको बाहिरी आवरणमा थान्का चित्रको दृष्य प्रष्ट्याउन खोजिएको छ । थान्का कलासंस्कृति बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्ने सजिलो माध्यम हो । बारागुङको प्रशासकीय भवनजस्तै मुस्ताङका अधिकांश गुम्बा यही शैलीमा निर्माण भएका छन् । कागबेनी–मुक्तिनाथ सडक छेउमा रहेको भवन पाहुना र पर्यटकका लागि पनि आकर्षण बनेको छ । भवन हेरेर मुस्ताङको कला र संस्कृतिको बारेमा बुझ्न

सकिन्छ । जनप्रतिनिधिको कार्यकक्षमा बौद्ध संस्कृति झल्किने थान्का झुन्ड्याएको छ । सुती र रेशमको बुट्टेदार कपडा बनाएको थान्का चित्र सजाइएको छ । बौद्ध धर्मका देवीदेवता, दृष्य र मण्डला चित्रित छन् ।

सङ्घीय सरकारको समानीकरण अनुदानमा आर्थिक वर्ष २०७५÷७६ देखि भवन निर्माण सुरु भएको थियो । चार हजार नौ सय ९५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको भवन निर्माणका लागि रु तीन करोड ९० लाख विनियोजन भएको थियो । गिता क्रियटिभ जेभीले ठेक्कामार्फत भवन निर्माण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र विषयगत शाखाका लागि कार्यकक्षका साथै सभाहलसहितको भवन बनाइएको छ । तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको जनजीवन, कला, संस्कार र संस्कृति तिब्बतसँग मिल्दोजुल्दो छ । यहाँका अधिकांश मानिसले बुद्ध धर्ममा आस्था र विश्वास राख्ने गर्छन् । पद्यसम्भव मुस्ताङ हुँदै तिब्बत पुगेर शान्ति स्थापना गरी बुद्ध धर्मको संरक्षण गरेपछि मुस्ताङमा बुद्ध धर्मको सुरुआत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP