📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम

🕒 August 10, 2022

म्याग्दीको बेनी नगरपालिकाले ‘ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम सुरु गरेको छ । सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्योपचारसम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासहितको विवरण सङ्कलन थालेका जानकारी दिनुभयो ।

“ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम कार्यान्वन गरेका हौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा मङ्गलबारदेखि सातवटा वडामा ज्येष्ठ नागरिकको लगत सङ्कलन सुरु भएको छ ।” बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले जिल्ला अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ । ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने नगरप्रमुख केसीले बताउनुभयो ।

ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिनेछन् । स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ । वडा नं ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक वृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेट्टाएका छन् । ती वृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगरप्रमुख केसीले बताउनुभयो ।

लगत सङ्कलन भएपछि नसक्नेलाई घरमै र हिँड्न सक्नेलाई टोल–टोलमा चिकित्सकलाई लगेर औषधि र उपचार सेवा दिने योजना बनाएको नगरप्रमुख केसीले बताउनुभयो । कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको छ ।

यसैगरी बेनी नगरपालिकाले हरेक महिनाको १५ गते नसर्ने रोग पहिचानका लागि शिविर सञ्चालन गर्दै आएको छ । मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगका बिरामी पहिचान गरी उनीहरुलाई उपचारको पहुँचमा ल्याउन कार्यक्रम सञ्चालन गरेको हो ।

यसैगरी सामुदायिक विद्यालयको अवस्था, समस्या, सम्भावना र चुनौती पहिचान गरी सुधारको उपाय खोज्न बेनी नगरपालिकाले नगरप्रमुख केसी, उपप्रमुख ज्योति लामिछाने र सामाजिक विकास समितिका संयोजक चक्र केसीको नेतृत्वमा तीनवटा टोलीले नगरका सबै सामुदायिक विद्यालयमा एकैसाथ अनुगमन थालेको छ । दशवटा वडा भएको बेनी नगरपालिकामा ५६ सामुदायिक विद्यालय छन् । अनुगमनबाट प्राप्त हुने प्रतिवेदनका आधारमा बेनी नपाको शैक्षिक सुधारको योजना बनाएर कार्यान्वयन गर्ने नगर उपप्रमुख लामिछानेले बताउनुभयो ।