📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजन पूजाआजा गर्दै

🕒 August 19, 2022

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ ।

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना–कुनामा रहेका कृष्ण मन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवत गीतामा अर्जुनका माध्यमबाट आममानिसलाई शिक्षा दिनुभएको छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ ।

अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।