📅 2083 साल जेठ 20 , शुक्रबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

एक हप्ताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन

🕒 August 22, 2022

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । हाल कामपाको फोहर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई आगामी एक हप्ताभित्र फोहर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिनुभएको हो ।

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहर उठाउँदै आएको छ । फोहर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ ।

कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मङ्गलबारदेखि नियमितरुपमा उपत्यकाको फोहर व्यवस्थापन गर्न थालेसँगै कलङ्की, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् । फोहर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालमा आएको छ । लामो समयदेखि काठमाडौँका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहरका कारण आवतजावत बन्द थियो ।

दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

साविकबमोजिम फोहर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन रहेको छ । यसअघि पनि लामो समय फोहर जमा भएर बसेको हुनाले अहिले दैनिक ३०० गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् ।