पर्यटकीयस्थल खोप्रामा आवास सुविधा विस्तार – News Nepal Media
Trend

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने म्याग्दीको पर्यटकीयस्थल खोप्रामा पर्यटकका लागि आवास सुविधामा विस्तार गरिएको

छ । अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा पाउद्वार पर्यटन सहकारीले आवास सुविधा विस्तार गरेको हो ।

बीस कोठामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकामा सहकारीले थप आठ कोठे आवास भवन निर्माण गरेको हो । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत वर्ष रु १३ लाख बजेट उपलब्ध गराएको थियो । यस वर्ष सहकारीले भवन बनाउन रु २८ लाख ५० हजार खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो ।

वडाध्यक्षसमेत रहनुभएका तिलिजाका अनुसार, उक्त भवनको जग निर्माण गर्न फ्रान्सेली नागरिकले रु ६५ लाखभन्दा बढी लगानी गरेका

थिए । बढी खर्चिलो भएर फ्रान्सेली नागरिकले बीचैमा भवन निर्माण गर्न छाडेपछि पर्यटन सहकारीको अगुवाइमा सो भवनलाई पूर्णता दिइएको हो । यसअघि पाउद्वार मावि र हिमाञ्चल मावि सञ्चालनका लागि खोप्रा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई दुई वर्षदेखि भने पर्यटन सहकारी मातहत ल्याइएको छ ।

पर्यटन क्षेत्रको लाभ समुदायमा पु¥याउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो पटक सहकारीमार्फत होटल सञ्चालनमा ल्याइएको हो । खोप्रालेक समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गसमेत पुनकै नेतृत्वमा सञ्चालनमा ल्याइएको थियो । खोप्राको होटललाई हिमाली क्षेत्रमा समेत धुवाँरहित बनाउने अवधारणाअनुसार अघि बढाइएको छ । पाउद्वार पर्यटन सहकारीमा एक सय ५० बढी शेयर सदस्य आबद्ध छन् भने प्रतिशेयर सदस्यहरुले रु २५ हजारदेखि रु तीन लाखसम्म लगानी गरेका छन् । पाउद्वारका स्थानीयवासीसँगै बेनी, पोखरालगायत स्थानमा बसोबास गर्नेहरुले समेत उक्त सहकारीमा लगानी गरेका छन् ।

शेयर सदस्यमार्फत सङ्कलन भएको रकमलाई पर्यटन पूर्वाधार विस्तारमा लगानी गर्न थालिएको छ । अहिले रु ९१ लाख शेयर पूँजी मौज्दात छ । सहकारीले तीन कर्मचारी नियुक्त गरी नियमित रुपमा खोप्रामा होटल सञ्चालन गरिरहेको छ । यस वर्ष बर्खायाममा नै पर्यटकको आगमन भएको छ । यहाँ बाह्यसँगै आन्तरिक पर्यटकको चाप बढ्दो छ ।

भदौदेखि मङ्सिर र फागुनदेखि जेठसम्म पर्यटकको आगमन बढी हुन्छ । पर्यटकको घुम्ने अवधि बढाउन स्थानीयवासीले पाउद्वार तातोपानी–गोनपानी–चित्रे–भालखारा–खोप्रा–खयर हुँदै पाउद्वार गाउँ जोड्ने गरी नयाँ पर्यटकीय पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेका छन् । समुद्री सतहदेखि तीन हजार ६ सय १० मिटर उचाइमा अवस्थित खोप्रा डाँडाबाट अन्नपूर्ण, नीलगिरि, धौलागिरि, गुर्जा, चुरेनलगायत हिमाल अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP