मंगलबार , बैसाख २, २०८२
विषाक्त खाजाले ३२ विद्यार्थी बिरामी – News Nepal Media
Trend

काँकडभिट्टा माध्यमिक विद्यालयको निःशुल्क दिवा खाजा खाएका ३२ विद्यार्थी एकैचोटी बिरामी भएपछि खाजा खुवाउने विद्यालय क्यान्टिनका सञ्चालक नारायण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चौकीदार विष्टले सञ्चालन गरेको क्यान्टिनमा बनाइएको छोलामुरी खाजा खाएलगत्तै कक्षा एकदेखि छसम्मका विद्यार्थी बिहीबार दिउँसो बिरामी भएका थिए । खाजा खाएकामध्ये २६ जनालाई उपचारका लागि भद्रपुरस्थित मेची अस्पतालमा भर्ना गर्नुपरेको विद्यालयकी शिक्षिका सुभद्रा अर्यालले बताउनुभयो ।

खाजा खाएका ती विद्यार्थीलाई ‘फुड पोइजन’ भएको अस्पतालका चिकित्सकले जनाए । क्यान्टिनले दिएको खाजा विषाक्त भएको विद्यालय र प्रहरीको ठहर छ । काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले क्यान्टिन सञ्चालक विष्टलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताउनुभयो । “क्यान्टिनका सञ्चालकलाई सोधपुछ गरेका छौँ”, उहाँले भन्नुभयो, “बिहीबार बिहानै पकाइएको खाजा दिउँसो विद्यार्थीलाई खान दिइएको रहेछ । गर्मी याममा बिहानको खाजा दिउँसोसम्ममा अमिलिएर विषाक्त भइसकेको ख्याल नगरी लापर्बाही गरेको पाइयो ।”

विद्यार्थीलाई सरकारले दिवा खाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था छ । विद्यालयका चौकीदारले परिसरभित्रै सञ्चालन गरिरहेको क्यान्टिनलाई रकम दिएर विद्यार्थीका लागि दिवाकालीन निःशुल्क खाजा बनाउन लगाउने गरिएको थियो । बिहीबार खाजा मात्र विषाक्त नभएर विद्यार्थीलाई दिइएको पानीसमेत दूषित रहेको गुनासो आएको प्रहरीको भनाइ छ । “विद्यार्थीलाई पिउन दिइएको पानीमा मसिना कीरा भेटिएको गुनासो आएको छ, यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक महतोले बताउनुभयो ।

विद्यालयका निमित्त प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले क्यान्टिनले लापर्बाही गरेको विषयमा छानबिन गरिने जानकारी दिनुभयो । “विद्यालयले दिवा खाजा निःशुल्क खुवाउने गरेको हो”, उहाँले भन्नुभयो, “गर्मी थियो, खाजा बासी हो कि भन्ने कुरा आएको छ । अब छानबिन हुन्छ ।” घटनापछि सो क्यान्टिन बन्द गरिएको छ भने क्यान्टिनका खानेकुराको नमूना गुणस्तर जाँचका लागि सम्बन्धित निकायमा पठाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले जानकारी दिनुभयो ।विद्यालयकै क्यान्टिनको खाजा विषाक्त भएको घटनाप्रति स्थानीय अभिभावक आक्रोशित भएका छन् । क्यान्टिनले पहिलेदेखि नै लापर्बाही गर्दै आएको गुनासो गर्दासमेत विद्यालय प्रशासनले गुणस्तर जाँचमा ध्यान नदिएको अभिभावकको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP