हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको
छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।
विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताउनुभयो । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टाँै कुर्नुपर्ने बाध्यता थियो ।” उहाँले भन्नुभयो,“सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।”

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो । “शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भन्नुभयो–“अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।”
महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ । “महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गनुपर्ने बाध्यता हटेको छ ।” दोधारा चाँदनीवासी आकृति कसेराले भन्नुभयो–“अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन,महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।” उहाँले यसअघि महेन्द्रनगरबाट सर–सामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताउनुभयो ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताउनुभयो । “अहिले पुलबाट अस्थायी रुपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ ।” उहाँले भन्नुभयो,“पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाकी छ ।” उहाँका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र २३ दबमलव आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिमा चरणमा रहेको उहाँले बताउनुभयो । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००÷६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *