📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

गुनासो राख्न विद्युतीय मतपेटिका

🕒 September 9, 2022

नुवाकोट, २४ भदौ (रासस) : सेवा प्रदायक संस्थामा गुनासो÷सुझाव पेटिका राख्नैपर्ने व्यवस्था छ तर पछिल्लो समय सेवा प्रदायक संस्थाको भित्तामा राखिने काठ वा टिनबाट बनेका पेटिकाको प्रयोग न्यून मात्रामा भएको पाइन्छ । कुनै कार्यालयको पेटिका त वर्षौँपछि खोल्दा पनि खाली देखिन्छ । त्यस्ता परम्परागत गुनासो÷सुझाव पेटिका प्रयोगविहीन अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यलयले सञ्चालनमा ल्याएको छ– विद्युतीय गुनासो पेटिका ।

सूचना प्रविधिको विकाससँगै सेवाग्राही तथा सरोकारवाला निकायलाई आफ्ना सुझाव तथा गुनासो राख्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । “प्रशासन कार्यालयबाट मात्र नभई जिल्लामा रहेका सेवा प्रदायक सबै संस्थाहरुबाट प्रवाह हुने सेवाका बारेमा विद्युतीय गुनासो पेटिकामार्फत आफ्ना गुनासा राख्न सक्नुहुनेछ”, रिसालले भन्नुभयो, “गुनासो पेटिकामा आउने गुनासो तथा सुझाव सिधै प्रमुख जिल्ला अधिकारीकोमा आउनेछन् । गुनासो तथा सुझावको प्रकृति हेरेर हामी सम्बोेधन गर्ने प्रयास गर्नेछौँ । जिल्ला प्रशासनबाहेक अन्य कार्यलयमा आएको गुनासो सम्बन्धित कार्यालयमा जानकारी गराउनेछौँ ।”

जिल्ला प्रशासन कार्यलय नुवाकोटले गएको हप्तादेखि विद्युतीय गुनासो पेटिका सञ्चालनमा ल्याएको
हो । प्रयोगकर्ताले गुगल फारममार्फत प्रयोग गर्नुपर्ने पेटिकामा गुनासो वा उजुरीकर्ताको नाम र फोन नम्बरसहित गुनासो गर्न चाहेको निकाय उल्लेख गरी गुनासोसहित आफ्ना सुझाव राख्न सक्ने छन् ।

उजुरीकर्ताको नाम गोप्य रहने प्रमुख जिल्ला अधिकारी रिसालको भनाइ छ । “गुनासो व्यवस्थापनका लागि जिल्लास्तरीय संयन्त्र निर्माण गर्न लागेका हौँ । सेवाग्राही सेवा लिन आउँदा सहज–असहज परिस्थिति सिर्जना भएको हुनसक्छ । तत्काल त्यस्ता कुरा सम्बन्धित निकायलाई जानकारी गराउन सक्ने अवस्था नहुन सक्छ । परम्परागत सुझाव पेटिकामा आफ्ना भनाइ राख्न इच्छा नगर्नेहरु पनि हुन्छन् । भौतिक उपस्थिति नभई मोबाइलबाटै सहजरूपले आफ्ना कुरा राख्न सक्ने माध्यमको खोजी गरेका हौँ”, उहाँले भन्नुभयो ।

एक हप्ताको बीचमा पाँचवटा गुनासो प्राप्त भइसकेको उहाँले बताउनुभयो । राहदानी र राष्ट्रिय परिचयपत्रसहित स्वास्थ्यको क्षेत्रमा चासो राखिएका गुनासा प्राप्त भएको उहाँको भनाइ छ । राम्रो कामको सुरुआत भन्दै प्रतिक्रिया दिनेहरू पनि रहेकाले क्रमशः विद्युतीय गुनासो पेटिकाको प्रयोगकर्ता बढ्दै जाने प्रमुख जिल्ला अधिकारी रिसालको अपेक्षा छ ।